‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम इटहरीमा सुरु



१६ कार्तिक २०७५, इटहरी

देशै भरी संचालनमा आएको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सुनसरीमा समेत सुरु भएको छ । कार्यक्रम अन्तरगत इटहरी उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय सुनसरी बिच सहमती पत्रमा हस्ताक्षर भएको छ । आज उपमहानगापलिकामा भएको एक कार्यक्रममा नगर प्रमुख द्वारिकलाल चौधरी र एसपी राजन अधिकारी बिच सहमती भएको हो ।

सहमती पत्रमा हस्ताक्षर गरेपश्चात मेयर चौधरीले समाजमा अपराध गर्ने मात्र दोषी नभएको भन्दै अपराध लुकाउने पनि उत्तिकै दोषी रहेको बताए । सबै नागरिक बिना बर्दीको प्रहरी भएको चौधरीको भनाई छ । समुदायमा शान्ति स्थापना गर्न आ–आफ्नो क्षेत्रबाट भुमिका निर्वाह गर्नुपर्ने बताउँदै मेयर चौधरीले यो समझदारीलाई नयाँ उचाईमा पुर्याउन उल्लेखीय भुमिका खेल्ने भन्दै इटहरी उपमहानगरपालिकाको तर्फबाट आफ्नो दायित्व पुरा गर्ने बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले टोलस्तर सम्म पुुगेर दीगो र दीर्घकालिन सहकार्य मार्फत समुुदायमा शान्ति निर्माण गर्ने भुमिका खेल्नुपर्ने बताए ।

‘हर प्रहर, गाउँ नगरीः टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको सो कार्यक्रम देशभरका टोल टोलमा संचालन गरिनेछ ।

मुलुकमा हत्या, बलात्कार लगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदायसँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न नेपाल प्रहरीले सो कार्यक्रम संचालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्