पीपीएल : लागातार तीन खेल हारेको विराटनगरको पहिलो जित



१५ कार्तिक २०७५, काठमाडौं

पोखरा रंगशालामा भईरहेको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले पहिलो जित हात पारेको छ । प्रतियोगिताको यसअघिको तीन खेल हारेको विराटनगरले बुटवल ब्लास्टर्सलाई लाई भने १२ रनले हारएको हो ।

१४१ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन मात्रै बनाउन सक्यो । बुटवलका लागि भीम सार्कीले अर्धशतक बनाए पनि टिमलाई जित दिलाउन भने सकेनन् । उनले ४२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए । बुटवलका लागि सागर पुनले २९ र शंकर रानाले २३ रन बनाएका थिए । बलिङतर्फ कप्तान सन्दीप लामिछाने र किशोर महतोले समान २–२ विकेट लिए । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो । विराटनगरका लागि मोहम्मद जाइद आलमले उत्कृष्ट ब्याटिङ गरे । उनले ४५ बलमा ७२ रन बनाए । उनले ५ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै, प्रदीप ऐरीले ४१ रन बनाए ।

बलिङतर्फ भने बुटवलका ललित भण्डारीले २ विकेट लिए । त्यस्तै, सामसद शेख, विपिन खत्री र सागर पुनले समान १–१ विकेट लिए । लगातार ३ खेलमा हार ब्यहोर्दै २ खेल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिएको विराटनगरले आफ्नो चौथो खेलमा जित हात पारेको हो । विराटनगरले यसअघिको सबै खेल हारेको थियो ।

प्रतिक्रिया दिनुहोस्