प्रदेश १ मा योजना आयोग गठन



१४ कार्तिक २०७५, सुनसरी

प्रदेश १ मा प्रदेश योजना आयोग गठन हुने भएको छ । प्रदेश १ मन्त्री परिषद्को आज बसेको बैठकले योजना आयोग गठन आदेश पास गरेको हो । बैठकले मानव अधिकारकर्मी सुबोधराज प्याकुरेललाई आयोगको उपाध्यक्षमा र मिना भण्डारी र पुर्ण लक्समलाई सदस्यमा समेत नियुक्त गरेको छ ।

प्रदेश १ सरकारका प्रवक्त एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले बैठकमा आयोग गठनसँगै १२ वटा निर्णय भएको जनाकारी दिनुभयो । बैठकले सुनसरी जिल्लाको कोशी गाउँपालिका स्थित कोशी कटानक्षेत्र नियन्त्रण परियोजना अघि बढाउन तथा मध्य पहाडी लोकमार्ग अन्तर्गत तेह्रथुमको कुनै एउटा शहर र पाँचथरको फिदिमलाई नयाँ शहरको रूपमा विकास गर्न स्वीकृति प्रदान गरेको छ । यस्तै प्रदेश नम्बर एकको सार्वजनिक खर्च मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यबिधी २०७५ लाई समेत बैठकले अनुमोदन गरेको छ ।

यसैगरी संविधानसँग बाझिने सरकारी कार्यालयका नामलाई १५ दिनभित्र परिमार्जन गर्ने तथा कोशी प्रतिष्ठान विधेयक मस्यौदामाथि स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्