
१४ कार्तिक २०७५, खोटाङ
खोटाङलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रेको काम थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार रुपैयाँको लागतमा दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको १० दशमलव ७९ किलोमिटर खण्ड कालोपत्रेको काम थालियो ।
आगामी १८ महिनाभित्र कालोपत्रे सम्पन्न गर्नेगरी याक्तुहाङ साप सिरुवा जेभीले उक्त सडक जिम्मा लिएको छ । सडकको बिस्तृत सर्भेक्षणको काम सकिएको राष्ट्रिय पुनःनिर्माण कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई आवास व्यवस्थापन तथा पूर्वाधार कार्यालय खोटाङका प्रमुख सागर आचार्यले बताउनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अस्पताल चौकबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानी जोडिने सडक कालोपत्रेको लागि प्रारम्भिक चरणको काम तिहारपछि लगत्तै शुरु हुने निर्माण कम्पनीका निर्देशक कल्याण खत्रीले बताउनुभयो । नाली, रिटेनिङ वाल सहित छ दशमलव २५ मिटर चौंडा हुने सडकको तीन दशमलव ७५ भागमा कालोपत्रे गर्नेगरी काम अघि बढाइएको हो ।





