गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने काम शुरु



भरैहवामा निर्माण भइरहेको  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच कार्य आजबाट शुरु भएको छ।

धावन मार्ग कालोपत्रे गर्ने कार्यको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले गरेका छन् । ६ महीनाभित्र धावन मार्ग कालोपत्रे गर्ने काम सम्पन्न हुने र सन् २०१९ अगष्टसम्ममा विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आउने छ ।

२०७१ माघ १ गते तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थल निर्माणको शिलान्यास गरेका थिए । पटक–पटकको आन्दोलन र अवरोधका कारण निर्माण कार्य प्रभावित भएको विमानस्थलको निर्माण कार्यले विगत एक वर्षदेखि गति लिएको हो । विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण शुरु गरिएसँगै विमानस्थल निर्माणले पनि गति लिएको थियो ।

सो अवसरमा मन्त्री अधिकारीले अब विमानस्थल निर्माण कार्य कतैबाट अवरोध नहुने र समयमै काम सम्पन्न हुने बताए । १ वर्ष अघि नै निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि मुआब्जा लगायतका अवरोधले काम अघि वढन सकेको थिएन ।

अहिले निर्माण भइरहेको धावन मार्ग १ दशमलव २५ मिटर उचाई, ३ हजार मिटर लम्बाई तथा ७० मिटर चौडाईको हुने बताइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावन मार्ग १ हजार ५ सय २४ मिटर लामो र ३० मिटर चौडा छ ।

प्रतिक्रिया दिनुहोस्