एएफसी यू–१९ महिला टोली स्वदेश फर्कियो



१३ कार्तिक २०७५, काठमाडौं

एएफसी यू–१९ महिला च्याम्पियनसिप अन्तर्गत खेलको दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गर्दै नेपाली टोली स्वदेश फर्किएको छ । थाईल्याण्डको चोनबुरीमा सम्पन्न खेलमा दोस्रो स्थानमा रहँदै नेपाली टोली आज स्वदेश फर्किएको हो । उनीहरुको यो आगमनलाई एन्फाका पदाधिकारीहरुले स्वागत गरेका छन् ।

नेपाली टोलीले दोस्रो चरणको खेल पक्का गर्दै सन् २०१९ मा थाईल्याण्डमै आयोजित खेलको लागि आफ्नो स्थान सुरक्षित बनाएका हुन् । नेपालले पहिलो खेलमा थाईल्याण्डलाई ३–० ले पराजित गरेको थियो । त्यसैगरि नेपालले भारतलाई २–१ ले तथा पाकिस्तानालाई ९–० ले पराजित गर्दै दोस्रो चरणको लागि आफ्नो स्थान पक्का गरेका हुन् ।

नेपालले पहिलो पटक एएफसी यू–१९ च्याम्पियनसिपको छनोटमा सहभागिता जनाएको हो । अब अन्तिम चरणमा छनोट हुन नेपालले अप्रिलमा हुने छनोट चरण पार गर्नुपर्नेछ । च्याम्पियनसिप छनोटमा विभिन्न छ समूहका विजेता र उपविजेतामध्ये उत्कृष्ट प्रदर्शन गर्ने दुई राष्ट्रले दोस्रो चरण खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्