
११ कार्तिक २०७५, संखुवासभा
घरैमा आराम गरेर बसिरहेका संखुवासभाको खाँदनवारी नगरपालिका ५ का लिला बहादुर दर्जीलाई वडा नं. ५ का कार्यवाहक अध्यक्ष श्यामप्रसाद निरौलाले घरैमा भत्ता पुर्याईदिदा खुशीको सिमा नै रहेन । ‘हामी जस्तो विपन्न परिवारको चाडवाडमा सरकारले थोरै भएपनि राहत महशुस गराएको छ ।’ सोही वडाकी नैनाकला गुरुङले भनिन्, ‘हामीले जिताएर पठाएका प्रतिनिधि घरैमा आएर भत्ता हातमा थमाइदिदा खुशी छु ।’ ८२ वर्षिय गुरुङले वर्षै पिच्छे यसरी नै घरैमा भत्ता लिएर आउन कार्यवाहक अध्यक्ष श्यामप्रसाद निरौलालाई आग्रह समेत गरिन् ।
खाँदबारी नगरपालिकाका जनप्रतिनिधिहरुले जेष्ठ नागरिकहरुको भत्ता घर–घर पुगेर वितरण गरेका छन् । नगर कार्यपालिकाले ८० वर्ष माथिका जेष्ठ नागरिकलाई दशैं, तिहार खर्च भन्दै प्रति व्यक्ति २ हजारका दरले दिने निर्णय गरेको थियो ।
अहिले जनप्रतिनिधिहरु जेष्ठ नागरिकको भत्ता लिएर घरघर पुगेका छन् । कार्यपालिकाको निर्णय अनुसार आफुहरुले घर घरमा पुगेर भत्ता वितरण गरेको वडा ५ का कार्यवाहक अध्यक्ष श्यामप्रसाद निरौलाले जानकारी दिए ।
वडा नम्बर ५ मा ८० वर्ष माथिका ३२ जना जेष्ठ नागरिकहरु छन् । उनले भने ‘यो वर्ष मात्र होइन, हाम्रो पाँच वर्षे कार्यकालमा उनीहरुलाई दिइने दशैं, तिहार खर्च लगातार संञ्चालन गरिराख्ने छौँ । घरैमा पुगेर भत्ता वितरण गर्दा बृद्धबृदा खुशी भएका छन् ।’
पहिलो पटक यसरी घरैमा भत्ता पाउँदा ललिबहादुर दर्जीले खुशी व्यक्त गरे । उनले भने
खाँदबारी नगरपालिकाले पहिलो पटक घर–घरमा गएर जेष्ठ नागरिक भत्ता वितरण सुरु गरेको नगरपालिका कार्यालयले जनाएको छ । नगरका ११ ओटै वडाका ज्येष्ठ नागरिकलाई वडाअध्यक्ष मार्फत् वितरण भइरहेको नगरपालिकाले जनाएको छ । हाल सम्म ४ सय ३१ जना जेष्ठ नागरिकलाई दशै, तिहार खर्च वितरण गरिसकेको नगरपालिकाका नायक सुब्बा कमल कार्कीले जानकारी दिए । उनले भने अहिले पनि भत्ता वितरण भइरहेकाले दुई चार दिन भित्रमा सबै वडाको तथ्यांक आइसक्ने बताए ।





