
१० कार्तिक २०७५, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. १० ले सुकिलो अभियान अर्न्तगत साःगा प्रविधिको प्रयोगबाट घरमा हुने फोहोरलाई व्यवस्थित गरी आम्दानीको स्रोत बनाउन लागेको छ ।
साःगा प्रविधिको प्रयोगले फोहोरलाई मोहर बनाउन सिकाउँदै गरेको भिडियो :
आज विहान वडा कार्यालयमा आयोजना गरिएको फोहोर व्यवस्थापन सम्बन्धी प्रयोगात्मक तथा परिणामुखी कार्यक्रम अर्न्तगत विगत ६ वर्षदेखि गन्हाउने फोहोरलाई किनबेच गर्ने अभियन्ता दीपक लोहनीले सामान्य प्रविधिको प्रयोग गरी सानो कोठा, फ्ल्याट वा घरको कौशीमा सामान्य प्लास्टिक क्रेट बाकसमा कार्टुनको सहायताले मल उत्पादन गर्न सकिने प्रविधि प्रयोगात्मक रुपमा सिकाएका थिए ।

नेवारी भाषामा साः भन्नाले मल र गा भन्नाले खाडल बुझिने र सो प्रविधि नेवारी समुदायमा सदियौं देखि प्रचलनमा रहेको भएपनि पछिल्लो समयमा आधुनीकिकरणको नाममा हराएको समेत बताए ।

आफू नेवार समुदायमा हुर्किएको बताउँदै लोहनीले नेवार समुदायको त्यही प्रविधिलाई प्रचार गर्ने उद्देश्यले घरको फोहोर घरमै व्यवस्थापन अभियान देशभर संचालन गरिएको बताए ।

नेवारी बाहुल्य काठमाडौंमै यो प्रविधिलाई नपत्याएको तर बाहिरी जिल्लाहरुमा यसको लोकप्रियता बढ्दै गएकोले बूनपा १० ले पनि यो अभियानलाई सहयोग गर्नेमा आशा व्यक्त गरे । उनका अनुसार घरमा हुने फोहोरलाई चिन्नुपर्छ । किचेनबाट मात्रै ६०–७० प्रतिशत फोहोर निस्किने र त्यसलाई प्लास्टिक क्रेट बाकसमा राखी सामान्य जडानको प्रयोग गरेर मासिक कम्तिमा ३०० र बढीमा जति पनि आर्जन गर्न सकिने बताए ।

काठमाडौंमा घर हुनेहरुको लागि रु.३०० रुपैया ठूलो पैसा नभएपनि त्यसले साबुन र हार्पिक किन्न पुग्ने साथै राज्यलाई पनि भार नहुने भएकोले आफूहरुले यो अभियान निरन्तर संचालन गरिरहेको बताए ।






