
०८ कार्तिक २०७५, बुटवल
बुटवल उपमहागरपालिकाले शुरु गरेको सहुलियतमा घर नक्सा डिजाइनको सेवा लिएका सेवाग्राहीलाई आज सम्मान गरेको छ ।
उपमहानगरपालिकाले भदौदेखि शुरु गरेको उक्त सेवाअन्तर्गत ४३ जना नगरपालिकामा सम्पर्कमा आएको र १४ जनाको सहुलियतमा घरको नक्सा तथा डिजाइन गरेको उपमहानगरपालिकाका योजना प्रमुख इञ्जिनियर सुमन श्रेष्ठले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाले नगरभित्र निर्माण गरिने एकतलामा एक हजार वर्गफिट क्षेत्रफल ओगटेका एकतला घरका नक्सा डिजाइनका लागि न्यूनतम शुल्क रु पाँच हजार र तीन तलासम्मको रु आठ हजार लिने गरेको छ ।
उपमहानगरपालिकाले उक्त सेवा प्रदान गर्न दुई जना प्राविधिक छुट्टै खटाएको छ । सोही कामका लागि व्यावसायिक घर नक्सा डिजाइनरले भने रु ३० हजारसम्म लिने गरेका छन् ।
उपमहानगरपालिकाले नगरभित्र घर बनाउने नगरवासीलाई घर निर्माणका लागि चाहिने नक्सा न्यूनतम शुल्क लिएर आफैँ बनाइदिने कार्यक्रम अघि सारेपछि नगरवासीलाई नक्साका लागि खर्चिनुपर्ने अनावश्यक रकम र भरपर्दो प्राविधिक खोज्नुपर्ने झण्झट कम भएको छ ।
उपमहानगरपालिकाले यस किसिमको सेवा प्रदान गरेपछि नगरपालिकाले तोकेको मापदण्डअनुसार घर बन्ने भएकाले नगरपालिकामा नक्सा पासको प्रक्रियामा कुनै समस्या नआउने उपमहानगरपालिकाका योजना प्रमुख इञ्जिनियर सुमन श्रेष्ठ बताउनुहुन्छ ।
नगरप्रमुख शिवराज सुवेदीले उपमहानगरपालिकाले आह्वान गरेको सार्वजनिक सूचनामा नगरका जनतालाई सुविधा दिन एमआरटी परिधिभित्र रहेका घरको नक्सा डिजाइन गरी पेस गर्ने तथा घरको प्राविधिक निरीक्षणसम्मका सम्पूर्ण काम उपमहानगरपालिकाले नै गरिदिने गरी डेस्क सञ्चालन गरिएको बताउनुभयो ।
उपमहानगरपालकामा पछिल्लो समयमा घर निर्माण बढ्दो छ । नगरभित्र वार्षिकरुपमा झण्डै एक हजार ५०० भन्दा बढी घर निर्माण हुने गरेको तथ्याङ्क योजना प्रमुख श्रेष्ठ बताउनुहुन्छ । उपमहानगरपालिकाले अगाडि सारेको यो योजना नगरभित्र घर निर्माण गर्ने अधिकांश नगरवासीका लागि प्रत्यक्ष उपयोगी हुने उहाँ बताउनुहुन्छ ।
नगरपालिकाले सार्वजनिक गरेको सूचनामा घर नक्सा निर्माणका लागि जग्गा धनी पुर्जा, राजिनामा, चालू आर्थिक वर्षको सम्पत्ति कर तिरेको रसिद, नेपाली नागरिकताको प्रतिलिपि, नापी नक्सा, फाइल नक्सा, घर धनीको फोटो र चारकिल्ला विवरण लगायतका कागजातसहित आवेदन गर्नुपर्नेछ ।
कार्यक्रममा सेवाग्राही हेमबहादुर राउत, रामजी ज्ञवाली, अमृता पौडेल, नरहरि भुसाल लगायतले बोल्नुभएको थियो । इञ्जिनियर श्रेष्ठका अनुसार ४४ वटाभन्दा बढी निवेदन नगरपालिकामा नक्सा निर्माणका लागि परेकामा हालसम्म १४ जनाले नक्सा पासको सबै प्रक्रिया पूरा गरेका छन् ।





