चौथो नवलपरासी औद्योगिक व्यापार मेला मङ्सिर १३ देखि २३ सम्म हुने



०८ कार्तिक २०७५, नवलपरासी

पश्चिम नवलपरासीको परासीमा आगामी मङ्सिर १३ देखि २३ गतेसम्म चौथो नवलपरासी औद्योगिक व्यापार मेला–२०७५ हुने भएको छ ।

उद्योग वाणिज्य सङ्घ नवलपरासीको आयोजनामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत् प्रदर्शनी सहितको मेला हुन लागेको हो । मेलामा विविध प्रकारका करीब २०० भन्दा बढी व्यावसायिक कक्ष रहनेछन् ।

मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने तथा करीब रु पाँँच करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको सङ्घका अध्यक्ष केशव भण्डारीले जानकारी दिनुभयो । नवलपरासी, रुपन्देहीसहित छिमेकी भारतीय बजारबाट समेत दर्शक मेला हेर्न आउने सङ्घका महासचिव गिरिराज पाण्डले जानकारी दिनुभयो । धार्मिक, पर्यटकीयस्थलको चिनारी, संस्कृति झल्किने गरी जातजातिको वेशभूषाको झाँकी, कला, कृषि उपज, घरेलु, हस्तकला तथा लघु उद्यमका उत्पादनको सो मेलामा प्रदर्शनी गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्