सिन्धुली सडक मर्मतका लागि जापानद्वारा एक अर्ब ८५ करोड सहयोग



०८ कार्तिक २०७५, काठमाडौँ

जापान सरकारले भूकम्पबाट भत्केकोे सिन्धुली सडक मर्मतसम्भार गर्न रु एक अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौता तथा समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गर्नुभयो ।

पूर्वी तराईलाई राजधानी काठमाडौँसँग जोड्ने एकसय ६० किलोमिटर लामो सिन्धुली सडक जापानी अनुदानमा निर्माण भएको हो । बीस वर्षमा पूरा भएको उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको एक महिनापछिको भूकम्पले प्रभावित भएको थियो ।

आगामी एक वर्षमा मर्मतसम्भारको काम पूरा गर्ने लक्ष्यका साथ आगामी माघदेखि कार्यसञ्चालन हुने अर्थ मन्त्रालयले बताएको छ ।

कार्यक्रममा राजदूत साइगोले नेपालको कृषि उत्पादनलाई बजारसम्म पुर्याउने, बालबालिकालाई विद्यालय तथा पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण सिन्धुली सडक पुनर्निर्माणमा जापानले पुनः सघाएको बताउनुभयो । सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासमा जापानबाट निरन्तर सहायता प्राप्त भएकामा हार्दिक आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्