सप्तशतीको पाठसार नेपालीमा (१–४ अध्याय)



श्रीदुर्गायै नमः
अथ श्रीदुर्गासप्तशती

प्रथमोऽध्यायः
मार्कण्डेयले भने- सूर्यपुत्र सावर्णि आठौँ मनु मानिन्छन् र म अब तिनको उत्पत्तिको कथा सविस्तार भन्दछु, सुन । सूर्यपुत्र सावर्णि महाशय महामायाका कृपाले कसरी मन्वन्तरका अधिपति भए, भन्ने प्रसङ्ग बताउँछु । उहिले स्वारोचिष मन्वन्तरमा सिङ्गै पृथ्वीको अधिकार भएका, चैत्रवंशमा उत्पन्न सुरथ नामका एक राजा थिए । प्रजालाई आफ्नै सन्तानझैँ पाल्ने तिनका कोलाविध्वंसी नामका राजाहरू शत्रु बनेका थिए ।

कोलाविध्वंसी थोरै भए तापनि दण्डनीति बलियो भएका हुनाले उनीहरूसँगका युद्धमा सुरथ राजाले हारे र आफ्नो नगरमा फर्किए । त्यही ठाउँको राजा भइरहँदा पनि ती महाभाग्यवान् राजा बलिया शत्रुका आक्रमणमा परे । त्यही आफ्नो नगरमा पनि बलिया दुष्ट शत्रुका मन्त्रीहरूले दुर्बल भएपछि उनको कोश र सेनालाई लुटेर लगे । अनि अधिकार गुमाएका ती राजा सिकार खेल्ने निहुँले घोडामा चढेर एक्लै घना जङ्गलमा गए ।

उनी वनमा पुगेर मेधा ऋषिका आश्रममा पुगे । त्यहाँ हिंसक जीवले आफ्नो बानी बदलेका थिए, मुनिका शिष्यहरूले शान्त वनको शोभा बढाइरहेका थिए । त्यहाँ पुग्दा मुनिले सत्कार गरेपछि ती मुनिश्रेष्ठका आश्रम वरिपरि घुम्दै उनी केही समय त्यतै बसे । त्यस बेला मायाले मन खिँचिएका उनी मेरा पुर्खाले जोगाएको नगर नै आज मबाट बिछोडिएको छ भन्दै सोच्न लागे- सधैँ मद बर्साउने मेरो त्यो सबैभन्दा शूरवीर हात्तीलाई मेरा दुराचारी सेवकहरू त्यहाँ धर्म सम्झेर रक्षा गर्दै छन् कि छैनन् भन्ने पनि थाहा छैन । मेरो कृपा र धनले खान पाएर मलाई पछ्याउनेहरू शत्रुका अधीनमा परेपछि ककसले कस्तो कस्तो कष्ट भोग्दै होलान् ? तिनीहरू बढी खर्चालु हुनाले सधैँ धेरै धनको खाँचो पर्दथ्यो, त्यसैले पक्कै पनि अर्कै राजाका पछि लागेर अर्कै पेसा गर्न लागे होला । धेरै दुःख गरेर जोगाएको कोश पनि सिध्याए होला । यस्तै यस्ता अरु पनि धेरै कुरा राजा सोच्ने गर्दथे ।

उनले विप्रका त्यही आश्रमछेउमा एक वैश्यलाई देखेर- हे भाइ ! तिमी को हौ र यहाँ किन आएका ? भनी सोधे । किन चिन्तित र मन मरेको जस्ता देखिन्छौ ? राजाले स्नेहसाथ यसरी सोधेको सुनेपछि वैश्यले विनीत भावले प्रणाम गरेर उत्तर दिँदै वैश्यले भने-

म धनीहरूको कुलमा जन्मेको समाधि नामको व्यापारी हुँ । लोभले धन खोस्ने दुष्ट स्वास्नी र छोराबाट लखेटिएको, म अहिले स्त्री, पुत्र र धन विनाको बिचरो हुँ । आफन्त र बन्धुहरूबाट लखेटिएर वनमा आएको मैले छोराछोरीको कुशलता बुझ्न पाएको छैनँ । यहाँ बसेको मैले घरमा आफन्त र पत्नीको अवस्था के छ कुशल छन् वा छैनन् भन्ने अहिलेसम्म जानेको छैनँ । ती मेरा छोराहरू सदाचारी नै छन् कि अथवा दुराचारी भइसके भन्ने पनि मलाई थाहा भएन । वैश्यलाई राजाले भने-  धनका लोभले जुन स्त्रीपुत्र आदिले तिमीलाई घरबाट लखेटे तिनका मायाले तिम्रो मन यति धेरै किन बाँधिएको हो ?

राजालाई उत्तर दिँदै वैश्यले भने- तपाईंले मेरा विषयमा भन्नुभएको कुरो ठिकै हो । जसले धनका लोभले बाबुलाई नै माया मारे, मेरो मन तिनीसँगै पनि निष्ठुर बन्न नसकेपछि म के गर्नु ? हे महाबुद्धिमान् ! पतिको आत्मीय अनुराग मेटाउने तिनकै माया मेरा हृदयमा किन छ ? बुझक्की भए पनि मैले जान्न सकिनँ । बैगुनी बन्धुहरूप्रति पनि मेरो चित्त प्रेमले किन पग्लियो र तिनकै लागि हृदय अत्यन्त दुःखी बनाएर सुस्केरा हाल्दै छु ? ती निर्मोहीहरूका लागि मेरो मन निष्ठुर हुन सकेन, म के गरुँ ?

ती दुवैको कुराकानी सुनिरहेका मार्कण्डेय ऋषिले भने-  हे ब्राह्मन् ! त्यसपछि ती दुवै सँगै मुनिको सेवामा उपस्थित भए । समाधि नामका वैश्य र ती विशिष्ट स्तरका राजासित मुनिले यथायोग्य, न्यायानुकूल विनयपूर्वक व्यवहार गर्दै बसे, अनि वैश्य र राजा फेरि मुनिसँग कुराकानी गर्न थाले ।

राजाले भने-  मैले एउटा कुरा हजुरसित सोध्न खोजेको छु, त्यसको आज्ञा पाऊँ । मेरो चित्त नियन्त्रण नभएकाले नै मनमा दुःख पनि भएको छ, त्यसैले खोसिएको राज्य र त्यसका अङ्गहरूको पनि माया लागेको हो । हे मुनिश्रेष्ठ ! पत्नी र पुत्रले हेपेर खेदेका यी वैश्यलाई पनि जानीकन नजान्नेझैँ, यस्तो किन भएको होला ? आफन्तले खेदे पनि हृदयमा तिनकै माया लागिरहन्छ । यिनको जस्तै मेरो पनि दुवै अति दुःखी भएका छौँ । दोष देखिएकै विषयमा पनि ममताले मनलाई तान्दछ, त्यसैले हे महाभाग ! ज्ञानीलाई पनि यस्तो मोह किन हुन्छ ? मलाई र यिनलाई विवेकशून्यझैँ यस्तो मूर्खता किन भइरहेको छ ?

राजालाई सम्झाउँदै ऋषिले भने- सबै प्राणीलाई विषयको ज्ञान भएकै देखिएको छ । हे महाभाग ! विषय पनि भिन्न भिन्न हुन्छ । त्यसैले कुनै प्राणी दिउँसो अन्ध हुन्छन् कोही रात्रिमा देख्दैनन् । कुनै प्राणी दिउँसो र राति पनि उस्तै देख्ने हुन्छन् । मानिस ज्ञानी हुन्छ भन्ने सत्य हो, तर ती केवल त्यस्तै हुँदैनन् । पशु, पक्षी र मृग आदि सबै ज्ञान भएकै हुन्छन् । मनुष्यको ज्ञान पनि तिनै मृग र पक्षीहरूको जस्तै हो । मानिस र ती पशुपक्षी दुवैमा समान ज्ञान भएर नै बच्चाका लागि चुच्चामा चारो लिएका चराहरू हेर । आफू भोकै भए पनि माया लागेर मुखको दाना खुवाउँछन् । हे नरश्रेष्ठ ! यी मानिस पनि सन्तानप्रति उस्तै हुन्छन् । उपकारको पैँचो उठाउनका लागि लोभिएका देखेनौ ? त्यही भएर ममताका खाडलमा तिनीहरू खसालिएका छन् । संसारको स्थितिलाई जोगाउने, योगनिद्रामा रहेका, जगत्पतिकी महामायाका प्रभावले यसो भएको हो, त्यसैले यसमा आश्चर्य मान्नुपर्दैन । हरिकी यिनै महामायाले नै जगतलाई मोहमा पारिन् र ज्ञानीका चित्तमा पनि उनै भगवती देवी रहेकी छिन् । महामायाले नै बलले तानेर मोहमा पार्दछिन् र उनैले यो चराचर जगत्को सृष्टि गर्दछिन् । उनै प्रसन्न भएर मानिसलाई मुक्तिको वरदन दिन्छिन् । उनै सनातनी परमा विद्या मुक्तिको कारण पनि हुन् । संसाररूपी बन्धनको कारण पनि उनै सारा ईश्वरको पनि अधीश्वरी हुन् ।

मुनिका कुरा सुनेपछि जिज्ञासा भयो र राजाले भने-  हे भगवान् ! तपाईंले महामाया भनेकी देवी को हुन् र ? हे द्विज ! तिनको उत्पत्ति कसरी भयो ? कर्महरू के हुन्, उनको स्वभाव र उत्पत्ति जस्ताको तस्तै भन्नुहोस् । हे वरिष्ठ ब्रह्मज्ञानी ! तपाईंबाटै त्यो सबै जान्न मन लाग्यो ।

ऋषिले भने- तिनै नित्य स्वरूप हुने देवीले नै यो सारा जगत् ओगटेकी छिन् तापनि धेरै विधिले उनको उत्पत्ति भएको कथा मबाट सुन । उनी जब देवताहरूको कार्य सिद्ध गर्न प्रकट भइन् त्यस बेला उत्पन्न भएकी भनिए तापनि ती लोकमा नित्य छिन् । समुद्रमय जगत् बनाएर योगनिद्रामा विष्णु भगवान् शेषनागलाई ओछ्याएर कल्पान्तमा रहेका थिए, त्यस बेला मधु र कैटभ नामका दुई भयानक असुर विष्णुका कानेगुजीबाट निस्किए र ब्रह्मालाई मार्न तम्सिए । विष्णुका नाभिकमलमा बसेका प्रजापति ब्रह्माले ती भयानक असुरलाई देखेका बेला जनार्दन निदाएका थिए । त्यो देखेपछि हरिलाई बिउँझाउने उद्देश्यले हृदयमा भएकी, हरिका आँखामा वास गर्ने, विश्वकी अधीश्वरी, जगत्लाई थाम्ने, पाल्ने र संहार गर्ने विष्णु प्रभुकी अनुपम शक्ति, उनै योगनिद्रा भगवतीलाई स्तुति गर्दै ब्रह्माले भने-

तिमी स्वाहा, तिमी स्वधा, तिमी वषट्कार हौ । स्वर पनि तिम्रै रूप हो । तिमी नै सुधा, नित्य, अक्षरमा तीन भेदले तिमी स्थित छौ । हे देवी ! तिमी नै आधा मात्रामा नित्य रहेकी विशेष उच्चारण नहुने, सन्ध्या, सावित्री र परम जननी हौ । हे देवी ! तिमीले नै यो जगत् थामेकी छ्यौ, तिमीबाटै संसार सृष्टि हुन्छ । तिमीबाटै पालिन्छ र सधैँ तिमीबाटै नासिन्छ । हे देवी ! सृष्टिकालमा तिमी नै सृष्टिरूपा हौ । पालन गर्दा स्थितिरूपा हौ । उसरी नै अन्त्यमा यस जगत्की संहार रूप भएकी संसार रूप हौ । तिमी नै महाविद्या, महामाया, महामेधा, महास्मृति, महामोहा, महादेवी र महादेवी हौ । तीन गुण उत्पन्न गर्ने सबैकी प्रकृति तिमी नै डर लाग्दो कालरात्रि, महारात्रि र मोहरात्रि हौ । तिमी नै श्री, तिमी नै ईश्वरी, तिमी नै ह्री, र तिमी नै बुद्धि, चेतनाको रूप, लज्जा, पुष्टि, तुष्टि, शान्ति र क्षमा पनि तिमी नै हौ । सौम्य रूपकी, सौम्यहरू मध्येकी अति सौम्य र सुन्दरहरूमा सुन्दर तिमी नै परको परभन्दा पनि पर रहने परमेश्वरी तिमी नै हौ । हे सत् असत् सबै रूपमा रहेकी ! जहाँ जेजति छ, ती सबैको शक्ति तिमी नै हुनाले तिमीलाई कति स्तुति गर्नुपर्छ र ? यस जगत्को सृष्टि गर्ने, पालन गर्ने र संहार गर्ने जो हुन् ती ईश्वरलाई पनि निद्राका अधीन पार्ने तिम्रो स्तुति गर्न कसले सक्ला ? म, शिव र विष्णुलाई शरीर ग्रहण गराउने तिम्रो स्तुति गर्न सक्ने शक्ति कोसँग होला ? हे देवी ! त्यस्ती तिमी स्वतः उदार प्रभावले प्रशंसित छौ । अब यी मधु र कैटभ दुई दुर्धर्ष असुरलाई मोहमा पारेर जगदीश्वर अच्युतलाई जगाऊ र यी दुवै महासुरलाई मार्ने बुद्धि उनका चित्तमा उत्पन्न गरिदेऊ ।

ब्रह्माको त्यो अवस्था देखेपछि ऋषिले भने- यस्ता प्रकारले ब्रह्माले स्तुति गर्दा तामसी देवी विष्णुलाई जगाउन र मधुकैटभलाई मार्नका लागि नेत्र, मुख, नासिका, बाहु, हृदय र वक्षःस्थलबाट निस्केर अव्यक्त जन्म ब्रह्माको दृष्टिसामु उभिइन् । तत्कालै जगन्नाथ जनार्दन योगनिद्राबाट मुक्त भएपछि महासमुद्रको शेषशय्याबाट उठे र ती दुई अति दुष्ट, अति बलिया र पराक्रमी मधुकैटभलाई देखे । तब भगवान् हरि उठे र रिसले आँखा राता पार्दै ब्रह्मालाई खान खोज्ने ती दुईसँग युद्ध गर्न लागे । पाँच हजार वर्ष प्रभुले बाहुयुद्ध गरेपछि मात्रै ती दुई अति बलले उन्मत्त भएका असुरलाई महामायाले मोहमा पारिदिइन् । तिनले केशवलाई हामीसित वर माँग, भन्न थाले ।

दैत्यहरुको कुरो सुनेपछि भगवान्ले भने-  ‘यदि मसँग प्रसन्न भयौ भने आज म तिमीहरु दुवैलाई मार्न पाऊँ भन्ने मैले वर माग्छु अर्को वरदान चाहिँदैन ।’

क्रमशः ऋषिले भन्दछन्- विष्णुले यस्तो वर मागेको देखेपछि दैत्यहरुले लौ, हामी झुक्कियौँ भने । त्यस बेला सारा जगत् जलामय भएको देखेर ती दुवैले कमल जस्ता आँखा हुने भगवान्लाई भने- त्यसो भए पानीले नडुबेका ठाउँमा हामीलाई मार ।

भगवानको र दैत्यहरुको संवाद सुनेर ऋषिले भने- ठीक छ भन्दै शङ्ख, चक्र र गदा लिएका भगवानले आफ्ना काखमा राखेर दुवैको टाउको चक्रले छिनाए । यसरी ब्रह्माले स्तुति गरेकी देवी आफैँ प्रकट भएकी हुन् र अब फेरि देवीको प्रभाव तिमीलाई भन्छु, सुन ।

श्रीमार्कण्डेयपुराण अन्तर्गत सावर्णिक मन्वन्तरमा देवीको माहात्म्य बताउने क्रममा मधुकैटभ वध नामको पहिलो अध्यायः यस प्रकार बयान भयो ।।१।।

द्वितीयोऽध्यायः
ऋषिले भने-

उहिले देवता र असुरबीच पूरा सय वर्ष युद्ध हुँदा असुरहरूको नेता महिषासुर र देवताहरूका नायक इन्द्र थिए । त्यसमा पराक्रमी असुरबाट देवताका सेना पराजित भएपछि सबै देवताहरूलाई जितेर महिषासुर नै इन्द्र भयो । अनि हारेका देवताले पद्मयोनि ब्रह्मालाई अघि लाएर शङ्कर र विष्णु भएका ठाउँमा गए । देवताहरूले महिषासुरको प्रयास र आफ्नो अवस्थाको उनीहरूसामु यथार्थ विवरण सविस्तार सुनाए । सूर्य, इन्द्र, अग्नि, वायु, चन्द्र, यम, वरुण र अरूको पनि अधिकार महिषासुरले खोसेर स्वयं शासन गरेको छ । दुष्ट महिषासुरका कारण स्वर्गबाट लखेटिएका सबै देवता मानिस झैँ पृथ्वीमा भौँतारिँदै छन् । देवशत्रुले गरेको उपद्रव सबै हामीले बतायौँ र शरण परेका छौँ । अब त्यसलाई मार्ने उपाय विचार गरौँ । देवताहरूको यस्तो कुरो सुन्दा विष्णु र शिव दुवै रिसाएर आँखीभौँ उचाल्दै मुख बङ्ग्याए । त्यसरी रिसाएका झोँकमा ब्रह्मा, विष्णु र शङ्करका मुखबाट एउटा तेज प्रकट भयो । इन्द्र आदि अन्य देवताको शरीरबाट पनि ठूलो तेज निस्केर एकत्र भयो । दन्कँदो पहाड जस्तो तेजको त्यस चुलीलाई देवताहरूले दिशाहरूमा फैलन लागेको देखे । सबै देवताहरूबाट निस्केर एकत्र भएको त्यो अतुलनीय तेज तीन लोकमै ज्योति फैलाउने नारीका रूपमा परिणत भयो । शिवका तेजले मुख, यमका तेजले केश र विष्णुका तेजले बाहु बने । चन्द्रमाका तेजले दुई स्तन, र इन्द्रका तेजले कम्मर, वरुणका तेजले तिघ्रा र पिँडुला, पृथ्वीका तेजले नितम्ब बन्यो । ब्रह्माका तेजले दुई गोडा, सूर्यका तेजले तिनका औँला, वसुहरूका तेजले हातका औँला र कुबेरका तेजले नाक उत्पन्न बने । प्रजापतिको तेजले तिनका दाँत र अग्निका तेजले तीन आँखा प्रकट भए । दुई सन्ध्याका तेजले आँखीभौँ, वायुका तेजले कान बने । अन्य देवताहरूका तेजले ती कल्याणमयी देवीका अन्य सबै अङ्ग बने । अनि सबै देवताका तेजपुञ्जले बनेकी तिनलाई देखेपछि महिषासुरले दुःख दिएका देवताहरू खुसी भए ।

पिनाकपाणि शङ्करले आफ्नू शूलबाट निकालेर यौटा अर्को शूल झिकेर दिए, अनि विष्णुले आफ्नू चक्रबाट अर्को चक्र उत्पन्न गरेर ती देवीलाई दिए । तिनलाई वरुणले शङ्ख, अग्निले शक्ति, वायुले धनु र ठोक्राभरि बाण दिए । देवराज इन्द्रले बज्रबाटै अर्को बज्र बनाएर र सहस्रनेत्र इन्द्रले ऐरावत हात्तीबाट झिकेर एउटा घण्टा दिए । यमले कालदण्डबाट निकाले दण्ड, वरुणले पाश, प्रजापतिले स्फटिकको माला र ब्रह्माले कमण्डलु दिए । सूर्यले सबै रौँछिद्रमा आफ्नै तेज भरे । कालले टल्कने खड्ग र ढाल दिए । समुद्रले उज्यालो हार, पुराना नहुने दुई पहिरन, दिव्य चूडामणि, कानमा कुण्डल, हातमा चुरा र उज्यालो अर्धचन्द्र, सबै हातमा चुरा, नुपूर, घाँटीका निम्ति सिक्री सबै औँलामा रत्नका औँठी दिए । विश्वकर्माले अति चम्किलो बन्चरो र अनेक प्रकारका शस्त्रास्त्र, अभेद्य कवच, त्यसबाहेक मस्तक र वक्षमा लगाउन कहिल्यै नओइलाउने पद्मको माला पनि उनलाई दिए । समुद्रले अति राम्रो कमलको उनलाई दिए । हिमालयले अनेक रत्न र वाहनका निम्ति सिंह दिए । धनका स्वामीले कहिल्यै सुरा नरित्तिने पानपात्र र नागराज शेषले महामणि जडान भएको नागहार दिए, उनैले यस पृथ्वीलाई थामेका छन् । अन्य देवताहरूले पनि गहना र अस्त्र–शस्त्र दिएर देवीको सम्मान गरे । अनि उनले बारम्बार अट्टहास गर्दा त्यस ध्वनिले आकाश नै थर्किएको थियो । त्यस शब्दको प्रतिध्वनिका सामु लोकहरू साना भए र त्यस ठूलो ध्वनिले सम्पूर्ण विश्व थर्कियो र समुद्र छचल्किए । पृथ्वीमा भुइँचालो गयो र सबै पर्वत थर्किए, त्यसैले देवताहरू प्रसन्न हुँदै सिंहवाहिनी देवीको जयजयकार गरे । विनयपूर्वक भक्तिभावले मुनिहरूले उनको स्तुति गरे ।

तीनै लोक उर्लिएको देखेर देवशत्रुहरू हतियार सहित सेना तयार उठेर महिषासुर रिसाउँदै- लौ हेर, यो के हुन लागेको छ भन्दै वरिपरि असुरहरू लिएर कराउँदै कुदेर अघि बढ्दा तीनै लोकमा प्रभा फैलाएकी देवीलाई उसले देख्यो । उनका गोडा सार्दा धर्ती झुक्थ्यो, मुकुटले आकाश कोर्दथ्यो र धनुषका प्रत्यञ्चाको ध्वनिले पाताल थर्काएको थियो । आफ्ना हजार भुजाले सबै दिशा ढाकेर उभिएकी ती देवीसित दैत्यहरूको युद्ध सुरु भयो । धेरै खालका हतियार हान्दा सबै दिशामा चम्किए । त्यो बेलामा महिषासुरको सेनापति चिक्षुर नामको महासुर थियो । अन्य चतुरङ्गिणी दैत्यसेनासँग चामर युद्धमा आयो । साठी हजार रथी लिएर उदग्र नामको महादैत्यले युद्ध गर्याे । महाहनु पनि एक करोड रथी लिएर युद्धमा आयो ।

तरबार जस्ता रौँ भएको असिलोम नामको महादैत्य पाँच करोड रथी लिएर युद्धमा आयो । बाष्कल साठी लाख दैत्य लिएर पनि देवीसित लड्न लाग्यो ऊ हजारौँ घोडा, हात्तीका बथानले घेरिएको थियो । एक करोड रथीको सेना लिई युद्धमा तम्सिएको बिडाल नामका दैत्यसँग पाँच अरब रथी थिए । यीबाहेक अन्य दसौँ हजार दैत्यहरू रथ, हात्ती र घोडाका सेना लिएर लडाइँ गर्न लागे । यसरी महादैत्यहरू त्यहाँ देवीसँग युद्ध गरे । त्यस लडाईंमा हजारौँ करोड रथ र हात्तीहरू अनि घोडा वरिपरि लिएको महिषासुर पनि युद्धमा उपस्थित भयो । तोमर, भिन्दिपाल, शक्ति, मुसल अनि खड्ग, परशु र पट्टिश आदि लिएर देवीसँग युद्धमा भिडे । कसैले देवीमाथि शक्ति प्रहार गरे भने कसैले पाश खड्ग आदि प्रहार गरेर तिनले देवीलाई मार्ने प्रयास गरे । ती चण्डिका देवीले पनि ती शस्त्रास्त्रलाई आफ्ना शस्त्रास्त्र हानेर सजिलै काटिन् । देवर्षिहरूले स्तुति गरिरहँदा उनको अनुहार थाकेको देखिँदैनथ्यो । ईश्वरीले पनि असुरका जिउमा शस्त्रास्त्र बर्साइन् र देवीको वाहन सिंह रिसाएर गर्धनको बाक्लो जगर हल्लाउँदै वनमा डढेलो उर्लिएझैँ असुरसेनामा झम्टिन लाग्यो ।

रणमा लड्दा अम्बिका छोडेका निःश्वासबाट तत्काल हजारौँका सय गण प्रकट भए र परशु, भिन्दिपाल, खड्ग, पट्टिश आदि हतियार लिएर युद्ध गरे । देवीको शक्ति पाएका गणले ढोल, शङ्ख र अन्य बाजा बजाउँदै असुरहरूको संहार गरे । त्यस युद्ध महोत्सवमा कसैले मादल बजए । अनि देवीले त्रिशूल, गदा, शक्ति बर्साएर र खड्ग आदिले सयौँ महासुर मारिन्, कैयौँ त घण्टाको ध्वनिले नै लट्याएर मारिन् । कुनै असुरलाई पाशले बाँधेर भुईंमा लतारिन् कुनैलाई धारिलो खड्ग हानेर दुई टुक्रा पारिन् । गदा प्रहारले घाइते हुँदै कुनै भुईंमा ढले, मच्चाएर मुसल हान्दा कुनै रगत छाद्न थाले । भालाले छाती फोरेका कोही भुईंमा पसारिए । त्यस युद्धभूमिमा लगातार बाणको थुप्रो नै लाग्यो । बाजझैं झम्टिने देवशत्रुहरू धेरै मरे । कसैका हात र कसैका टाउको छिने । कसैको टाउको गिँडियो, कोही बीचैमा चिरिए । कुनै महासुरहरू तिघ्रा काटिएर भईंमै पसारिए । देवीले चिरेर कुनै एक हात, एक खुट्टो र एक आँखो भए । कुनै टाउको छिनेर भुईंमा ढलेका पनि फेरि उठ्तै थिए । गतिला हतियार लिएका कुनै मुर्कट्टा देवीसँग लडे भने कुनै सहनाईका धुनमा नाच्न लागे । कुनै महासुर मुर्कट्टाहरू हातमा खड्ग, शक्ति, ऋष्टि लिएर देवीलाई पख् पख् भन्दै हप्काउँथे । त्यो महायुद्ध भएको ठाउँ काटिएर लडेका रथ, हात्ती, घोडा असुरले हिँडिनसक्नु भयो । असुरसेनाका काटिएका हात्ती, घोडा र असुरका रगतका भेलले त्यति बेला ठूलो नदी नै बग्यो । आगाले दाउराको डङ्गुरलाई भस्म पारे जस्तै अम्बिकाले असुरहरूको त्यस विशाल सेनालाई एकै छिनमा सखाप पारिदिइन् । त्यो सिंह पनि जगर हल्लाउँदै र ठूलो गर्जना गर्दै दैत्यका शरीरबाट प्राण लुछेझैँ मार्दथ्यो । देवीका गणले ती महासुरसित युद्ध गरेको देख्ता खुसी हुँदै आकाशबाट देवगणले पुष्प वर्षा गरेका थिए ।

श्रीमार्कण्डेयपुराण अन्तर्गत सावर्णिक मन्वन्तरमा देवीको माहात्म्य बताउने क्रममा महिषासुरसैन्य वध नामको दोस्रो अध्यायः यस प्रकार बयान भयो ।।२।।

तृतीयोऽध्यायः
ऋषिले भने-  उसको सेना विनाश भएको देखेपछि सेनापति चिक्षुर रिसाएर अम्बिकासँग युद्ध गर्न लाग्यो । सुमेरु पर्वतमा बादलले जलवर्षा गरेझैँ त्यस असुरले युद्धमा बाण बर्सायो । देवीका बाणले सजिलै त्यसका बाणहरू काटेर घोडा र सारथि पनि मारिन् । तत्काल धनुष र अग्लो ध्वजा काटिन् र धनुष काटिएको त्यसलाई धुवाँधार बाण वर्षा गरी जिउ थिल्थिलो पारिन् । धनुष काटिएको, रथ, घोडा र सारथि नभएको त्यो रथहीन असुर ढाल तरबार लिएर ती देवीतिर दौडियो । धारिलो खड्गले सिंहका टाउकामा हिर्काउने बित्तिकै देवीका देब्रे हातमा पनि अति जोडले हान्यो । हे राजपुत्र ! उसको खड्ग पाखुरामा ठोकिएर भुईंमा खसेपछि ऊ झन् रिसले राता आँखा पारी हातमा त्रिशूल लियो । अनि महासुरले भद्रकालीलाई आकाशबाट सूर्यमण्डलको तेज खसेझैँ चम्किलो भालाले हान्यो । त्यो भाला आएको देखेर देवीले पनि भाला नै हानिन् । त्यसले दैत्यको भाला सयौँ टुक्रा भई खस्ता त्यो महासुर पनि भुईंमा ढल्यो ।

महिषको त्यो महावीर सेनापति मरेपछि देवताहरूलाई दुःख दिने चामर हात्तीमा चढेर आइपुग्यो अनि उसले शक्ति प्रहार गर्याे र त्यसलाई अम्बिकाले तुरुन्तै हकारेरै शक्तिहीन पारी भुईंमा खसालिन् । चामरले आफ्नो शक्ति खेर गएको देखेर रिसाउँदै प्रहार गरेको शूललाई पनि बाणले काटिन् । अनि सिंह उफ्रेर हात्तीका टाउकामा चढ्यो र देवशत्रुसँग बाहुयुद्ध गर्याे । ती दुवै लड्दै हात्तीबाट भुईंमा खसेपछि रिसाउँदै जोडले हानाहान गरे । अनि सिंह वेगले आकाशतिर उफ्रँदै तल झरेर झापड हान्दा चामरका जिउबाट टाउको चुँडियो । देवीले हानेका ढुङ्गामुढाले उदग्र र दाँत, मुड्की, थप्पडले कराल मारियो । रिसाएकी देवीले गदाले हिर्काएर उद्धतलाई धुल्याइन् । बाष्कललाई भिन्दिपालले र ताम्र एवं अन्धकलाई बाणले मारिन् । तीन आँखा भएकी परमेश्वरीले उग्रास्य, उग्रवीर्य र महाहनुलाई त्रिशूलले मारिन् । तरबारले बिडालका जिउबाट टाउको खसालिन् । दुर्धर र दुर्मुख दुवैलाई बाणले यमलोक पठाइन् । यसरी आफ्नो सेना सखाप भएको देखेपछि महिषासुर राँगाको रूप लिएर देवीका गणलाई तर्साउन लाग्यो । कतै थुतुनाले, कतै खुरले, कसैलाई पुछरले र कसैलाई सिङले हान्दै कतिलाई वेगले, कतिलाई आवाजले, कतिलाई घुमाएर, कतिलाई सासका वेगले भुईंमा पछार्दै मार्याे । गणलाई ढालेर त्यो असुर सिंहलाई मार्न झम्टिपछि अम्बिका रिसाइन् । त्यो महापराक्रमी रिसाएर खुरले भुईं खोस्रँदै सिङले पर्वत फ्याँक्दै गर्जियो । कुदाइका वेगले धर्ती चिरियो, पुछरले समुद्र छचल्काउँदा सबै डुब्यो । सिङको घच्च लागेर बादल चिरै चिरा भएर छरियो । श्वासका वेगले पर्वतहरू आकाशमा उड्दै भूमिमा पछारिए । रिसाउँदै आफूतिर हुइँकिएर आएको महासुरलाई देखेपछि त्यसलाई मार्न चण्डिका खुब रिसाइन् । त्यस महासुरलाई उनले पाश फ्याँकेर बाँधिन् । बाँधिएपछि उसले महायुद्धमा राँगाको रूप त्यागेर तत्काल सिंह बन्यो, त्यही बेला जगदम्बाले टाउको छिनाउन खोज्दा फेरि खड्ग लिएको पुरुषको रूपमा देखियो । अनि देवीले तत्काल बाणले त्यस ढालतरबार लिएको पुरुषलाई मार्न लाग्दा विशाल हात्तीका रूपमा परिणत भयो । सुँडले देवीको विशाल सिंहलाई तान्दै गर्जियो र देवीले त्यसको तान्ने सुँड खड्गले काटिन् । फेरि त्यो महासुर महिष रूप लिएर पहिलेकै जस्तो, तीनै लोकका चरअचरलाई दुःख दिन लाग्यो । अनि रिसाएकी जगन्माता चण्डिकाले बारम्बार उत्तम मधुपान गरिन र आँखा राता पारेर हाँस्न लागिन् । बल पराक्रमले उन्मत्त त्यो असुर पनि गर्जियो र सिङले चण्डिकामाथि पर्वत फ्याँक्न लाग्यो ।

उसले फालेका पर्वतलाई बाणले धल्याउँदै मदले मुख उन्मत्त पार्दै लट्ठिएका बोलीले देवीले भनिन्- हे मूर्ख ! मैले मधुपान गरुन्जेल केही क्षण गर्जिंदै गर् । मैले तँलाई मारेपछि चाँडै यहाँ देवताहरू गर्जनेछन् ।

यस प्रकारको संवादलाई वर्णन गर्दै ऋषिले भने-  यसो भनेर उनी उफ्रिँदै त्यस महासुरमाथि चढिन् र गोडाले थिचेर शूलले घाँटीमा हानिन् । उनका गोडाले थिचिएपछि उसका मुखबाट भिन्नै रूप आधा निस्केको थियो, देवीका प्रभावले त्यतिमै रोकियो । आधा निस्केको त्यो महासुर युद्ध गर्दै थियो, उनै देवीले ठूलो तरबारले टाउको काटेर खसालिन् । सबै दैत्यसेना हाहाकार गर्दै त्यहाँबाट भागे । सबै देवता खुब खुसी भए । दिव्य महर्षिहरूसँगै देवताले देवीको स्तुति गरे । गन्धर्वपतिले गाए र अप्सराहरू नाचे ।

श्रीमार्कण्डेयपुराण अन्तर्गत सावर्णिक मन्वन्तरमा देवीको माहात्म्य बताउने क्रममा महिषासुर वध नामको तेस्रो अध्यायः यस प्रकार बयान भयो ।।३।।

चतुर्थोऽध्यायः
ऋषिले भने-  अति बलियो, सेना सहित दुष्ट असुरलाई देवीले मारेपछि हर्षले रोमाञ्चित हुँदै देवताहरूले शिरसँगै रिस पनि झुकाए र राम्रा स्तोत्रले यस्तो स्तुति गरे । आत्मशक्तिले यो संसार ढाक्ने, सबै देवताका शक्तिको सामुहिक रूप, सबै देवता र महर्षिले पुजेकी अम्बिका देवीलाई भक्तिले ढोग्दा हाम्रो कल्याण हुन्छ । चण्डिकाको अपार प्रभाव र बलको बयान गर्न भगवान् अनन्त, ब्रह्मा र शिवले सकेनन्, उनैले सबै जगत्को रक्षा गर्दै अशुभ र भय नाश गर्ने बुद्धि दिऊन् । हे देवी ! सत्कर्मीसँग लक्ष्मी, पापीसँग अलच्छिन, बुद्धिमानसँग बुद्धि, सज्जनसँग श्रद्धा, कुलीनसँग लज्जा बनेर बस्ने तिमीलाई सबैको रक्षा गर्न हामी ढोग्छौँ । हे देवी ! तिम्रो यस अचिन्त्य रूप, देव र असुरगणका युद्धको अद्भुत कर्म, असुर नास्ने प्रचुर वीरताको बयान हामीले कसरी गर्न सक्छौँ ?

त्रिगुणमयी भए पनि दोषमुक्त, समस्त जगत्की कारण, हरि र हरले पनि महिमा पार नपाउने, अंशका रूपमा संसारका सबै वैभव लिएकी, विकृतिरहित तिमी नै परम आद्य प्रकृति हौ । हे देवी ! यज्ञमा देवता तृप्त गर्ने र पितृलाई पनि तृप्ति दिने तिमी नै हौ । यसैले सबै मानिसले तिमीलाई स्वाहा र स्वधा भनी बोलाउँछन् ।

हे देवी ! मुक्तिको कारण, अचिन्त्य महाव्रत, सबै दोषरहित, जितेन्द्रिय, तत्त्व सार ग्रहण गरी मोक्षार्थी मुनिले अभ्यास गर्ने ती भगवती पराविद्या तिमी नै हौ ।

अति पवित्र ऋग्वेद, यजुर्वेद र उद्गीथका सुन्दर पदपाठ सहितको सामवेदको आधार तिमी नै हौ । हे देवी ! तिमी तीन वेद र ऐश्वर्ययुक्त भगवतीले विश्व पालनका निम्ति वृत्तिका रूपमा रहेर सबै जगत्को दुःख हटाउँछ्यौ । हे देवी ! सबै शास्त्रको सार मेधा, दुर्गम भवसागरबाट तार्ने नौकारूप दुर्गा, आसक्ति मुक्त, कैटभशत्रु विष्णुका हृदयमा बस्ने लक्ष्मी हौ र चन्द्रशेखर शिवले सम्मान गरेकी गौरी पनि तिमी नै हौ । पूर्णचन्द्रको बिम्ब जस्तो तिम्रा मुखको पवित्र मुस्कान, सुन जस्तो अति अद्भुत मनोहर कान्ति देख्ता पनि महिषासुर रिसाएर एक्कासि प्रहार गर्याे ।

हे देवी ! रिसाएको त्यही मुख उदाउँदो चन्द्रझैँ रातो भई आँखीभौँ बङ्गिएर डर लाग्दो भएको देख्ता पनि महिषासुरको प्राण ननिस्कनु अझ अचम्म हो । रिसाएका यमराजलाई देखेर को जीवित रहन सक्छ ? हे देवी !  तिमी परम शक्तिको प्रसन्नताले जगत्को कल्याण र रिसाउने बित्तिकै कुलको नाश हुन्छ भन्ने अहिले अनुभव ग¥यौँ । किनभने महिषासुरको विशाल सेना तिम्रा कोपले क्षणमै मासियो, त्यसैले प्रसन्न होऊ । उन्नति प्रदान गर्ने तिमी जोसँग खुसी हुन्छ्यौ, उसले देशमा कमाएका धन, कीर्ति र धर्मको कहिल्यै नाश हुँदैन । तिनीहरू आफ्ना स्त्री, पुत्र र सेवक भएका धन्य हुन्छन् । हे देवी !  तिम्रा कृपाले धार्मिकहरू सधैँ अति श्रद्धासाथ धर्मानुकूल कर्म गर्छन् र त्यसका प्रभावले स्वर्ग पुग्छन् । त्यसैले तिमी तीनै लोककी फलदाता हौै ।  हे दुर्गा ! स्मरण गर्ने प्राणीका सबै भय हटाउँछ्यौ र स्वस्थले सम्झँदा हितकर बुद्धि दिन्छ्यौ । हे दुःख, दरिद्रता र भय हटाउने देवी ! सबैको उपकार गर्न सधैँ चित्त पग्लने अरू को छ र ? हे देवी ! यिनीहरू मरेर संसारले सुख पाओस् र सधैँ नरकमा बस्नुपर्ने पापी भए पनि युद्धमा मरेपछि स्वर्ग जाऊन् भन्ने सोचेर तिमी शत्रुलाई वध गछर्यौ ।  हेर्दैमा भस्म पार्न सक्ने तिमीले सबै असुर शत्रुलाई किन हतियार हान्नुपर्छ र ? शत्रुहरू पनि शस्त्रले पवित्र भएर उत्तम लोक पाऊन् भन्ने विचार गरेर नै तिमी अति साध्वीले यसो गरेकी हौ ।

हे देवी ! अमृतका किरण सहित चन्द्रमा रहेका तिम्रा निधारमा असुरहरूले हेरिरहेका हुनाले तिम्रा शूल र खड्गका तेजले तिनीहरूका आँखा फुटेनन् । हे देवी !  तिमीसँग अनुचित व्यवहारलाई नष्ट पार्ने अचिन्त्य एवं अतुलनीय शील र देवगणको पराक्रम नाश पार्ने दैत्यलाई मार्ने बलशाली पराक्रम छ तापनि तिमीले शत्रुमाथि दया नै प्रकट गरेकी छ्यौ । हे वरदायिनी ! तिम्रा यस पराक्रमको तुलना कोसँग होला ? शत्रु तर्साउने अति मनोहर रूप तिमीबाहेक अरू कसको छ ? हृदयमा कृपा र युद्धमा निष्ठुरता तीनै लोकमा तिमीमै मात्र देखिन्छ । शत्रुसंहार गरी तीन लोकको रक्षा गर्ने, युद्धमा मारेर शत्रुलाई पनि स्वर्ग पठाउने, उन्मत्त देत्यबाट हुने हाम्रो भय निवारण गर्ने, तिमीलाई नमस्कार छ ।

हे देवी !  हामीलाई शूलले रक्षा गर । हे अम्बिका ! खड्गले, घण्टाका ध्वनिले र धनुषका टङ्कारले पनि हामीलाई रक्षा गर । हे चण्डिका !  पूर्व, पश्चिम र दक्षिणमा हाम्रो रक्षा गर, हे ईश्वरी ! आफ्नू त्रिशूल घुमाएर उत्तर दिशामा पनि हाम्रो रक्षा गर । तीनै लोकमा तिम्रा जुन राम्रा र भयङ्कर रूप डुल्छन्, तिनले पनि हाम्रो र भूलोकको रक्षा गर । हे अम्बिका ! तिम्रा हातमा सजिएका खड्ग, शूल र गदा आदि जुन अस्त्र छन्, ती सबैले तिमी सबै तिरबाट हाम्रो रक्षा गर ।

ऋषिले भने-  नन्दन वनमा फुलेका पुष्प, सुगन्धलेपन आदिले यसरी स्तुति गर्दै देवताहरूले जगत्की रक्षक देवीको पूजा गरे । सबै देवताहरूले दिव्य धुप आदि भक्तिसाथ चढाएपछि देवीले प्रसन्न भएर प्रणाम गरिरहेका देवतहरूलाई देवीले भनिन्-  हे देवताहरू ! मनमा जे इच्छा छ, त्यो माग ।

देवताहरूले भने- भगवती देवीले सबै इच्छा पूर्ण गरेकी हुनाले केही बाँकी छैन । हे महेश्वरी ! हाम्रो यो शत्रु महिषासुर मारियो तापनि हामीलाई वर दिने इच्छा छ भने तिमीलाई सम्झेका बेलाहरूमा हाम्रो कष्ट निवारण गर । हे सुमुखी ! जुन मानिसले यस स्तोत्रले तिमीलाई स्तुति गर्दछ उसलाई धन, समृद्धि दिएर उसको धन, स्त्री आदि सम्पत्ति बढाउँदै सधैँ हामीसँग प्रसन्न होऊ ।

ऋषिले भने-  हे राजा !  देवताहरूले आफ्नो र जगतको हितका लागि भद्रकालीलाई यसरी प्रसन्न पारेपछि उनी तथास्तु भनेर अन्तध्र्यान भइन् । हे भूपति !  उहिले तीनै लोकको हित गर्न देवी जसरी देवताका तेजबाट प्रकट भइन् त्यो वृत्तान्त मैले यसरी सुनाएँ । फेरि उनी शुम्भ, निशुम्भ र अन्य दुष्ट दैत्यको वध गर्न गौरी देवीको शरीरबाट जसरी प्रकट भइन् । लोकहरूको रक्षा र देवताको हित गर्नका लागि उत्पन्न भएको कुरो अब मैले यथावत् वर्णन गरेअनुसार सुन ।

श्रीमार्कण्डेयपुराण अन्तर्गत सावर्णिक मन्वन्तरमा देवीको माहात्म्य बताउने क्रममा देवताहरुको स्तुति नामको चौथो अध्यायः यस प्रकार बयान भयो ।।४।।

प्रतिक्रिया दिनुहोस्