राजनीतिज्ञका दसैँ योजना



हिन्दु धर्मालम्बीको महान चाड बडादशैंले नेपालीको घर आगन छोइसकेको छ । राम्रो लाउने, मिठो खाने र मान्यजनबाट आशीर्वाद लिने पर्वका रुपमा समेत रहेको दशैलाई बिजया दशमी पनि भनिन्छ । घटस्थापनादेखि सुरु भएर कोजाग्रत पूर्णिमाका दिन समापन हुने दशै नेपालमा निकै उल्लासका साथ मनाइने गरिन्छ ।

सामान्यता आफ्नो परम्परालाई निरन्तरता दिने हेतुले चाडपर्व मनाइने गरिन्छ । सर्वसाधारणदेखि लिएर देश चलाउने नेता, ब्यापारीलाई समेत उत्तिकै रौनकताले छुने दशैलाई खर्चिलो पर्व पनि भनिन्छ । दशैमा खानपीन, मनोरञ्जन मात्र होइन, नयां ठाउं घुम्ने, नयां किताव पढ्ने, नया खोज अनुसन्धान गर्ने तथा अधुरा काम सक्ने लक्ष्य लिएका ब्यक्ति पनि भेटिएका छन् । यसपालीको दशै नेता, ब्यापारी, बैंकर तथा कलाकर्मीले कसरी मनाउंदैछन् त ? भन्नेबारे नयाँ पत्रिकाले एउटा रिपोर्ट तयार पारेको छ ।

डाँडाकाँडा घुम्न जाँदै छु: झलनाथ खनाल, नेता, नेकपा
यसपाली पनि म काठमाडौंमै दसैँ मनाउने योजनामा छु । दसैँका वेला म प्राय: काठमाडौंका डाँडाकाँडा घुम्न जाने गर्दछु । यसपाली कहाँ जाने भन्ने योजना बनिसकेको त छैन, तर सम्भवत: घुम्न बाँकी डाँडाकाँडा जान्छु होला । काठमाडौं वरिपरिको हरियाली डाँडाले मलाई आकर्षित गर्छ ।

डिल्लीराम भट्टराईको स्मृतिमा प्रकाशित हुन लागिरहेको किताबको लामो भूमिका लेख्नुपर्ने हुनाले यसपालीको दसैँ त्यसमा पनि खर्चिँदै छु । दसैँको टीकामा भाइ–भतिजा, आफन्तजन, कमरेडहरू आउनुहुन्छ, उहाँहरूसँग भलाकुसारी गर्छु, टीका लगाइदिन्छु । सम्पूर्ण नेपालीमा बडा दसैँको शुभकामना व्यक्त गर्दछु ।

बद्री–केदारनाथ तीर्थ यात्रा: रामचन्द्र पौडेल, कांग्रेस नेता
कांग्रेस नेता रामचन्द्र पौडेल यसपटक दसैँमा भारतको बद्री–केदारनाथको तीर्थ यात्रामा जाँदै छन् । ठूलो ज्वाइँको निधन भएकाले उनको परिवारले दसैँ नमनाउने भएको हो । नेता पौडेल श्रीमतीसहित तीर्थयात्रा जाने तयारीमा छन् । ३० असोजबाट एक हप्ताका लागि उनी तीर्थयात्रामा निस्कन लागेका हुन् ।

दसैँभरि कार्यक्रम, परिवारसँग टीका: नारायणकाजी श्रेष्ठ, प्रवक्ता, नेकपा
चितवन हुँदै गृह जिल्ला गोरखा जाँदै छु । फूलपातीका दिनसम्म गोरखाका विभिन्न गाउँहरूमा शुभकामना आदान–प्रदान कार्यक्रम छ । अष्टमीका दिन काठमाडौं फर्किन्छु । नवमीमा महोत्तरीमा कार्यक्रममा सहभागी हुन्छु । अनि विजया दशमीको दिन काठमाडौं फर्किएर परिवारसँग टीका लगाउने र शुभकामना–आदान–प्रदान गर्ने काममा सरिक हुन्छु । अरू त्यस्तो कुनै विशेष योजना छैन ।

तीनवटा पुस्तक पढ्ने योजना छ: प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री
दसैँ सामान्य तरिकाले नै मनाउँदै आएको छु । टीका लगाउने, साथीभाइलाई शुभकामना दिने, आफन्तजनसँगको भेटघाट र केही अध्ययन–लेखनको काम गरेर बिताउने योजना छ । दसैँको टीकाको भोलिपल्ट निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुन गुल्मी जाँदै छु । त्यसअघि अनुकूल समय मिल्यो भने देशका घुम्न बाँकी केही ठाउँ पुग्ने योजनामा छु । अहिले जिम्मेवारीको भारीले यति थिचेको छ कि–दसैँमा पनि सिर्जनाका लागि त्यति अनुकूल समय मिल्लाजस्तो लागेको छैन । तर, सम्भव भयो भने तीन पुस्तक पढ्नका लागि संकलन गरेको छु ।

जेफरी स्यासको अ न्यू फोरियन पोलिसी अध्ययन गरिरहेको छु, दसैंमा पूरा गर्छु । बाराक ओबामाको कार्यकालमा उनलाई उनका शुभचिन्तक, मतदाताले पठाएका चिठी र राष्ट्रपतिको हैसियतमा उनले फर्काएको जवाफ संकलन गरिएको पुस्तक–टु ओबामा, राजेन्द्र पराजुलीको अघोरी कथासंग्रह पढ्ने विचारमा छु ।

मन्दिर दर्शन र भेटघाटमा व्यस्त: विमलेन्द्र निधि, कांग्रेस उपसभापति
कांग्रेस उपसभापति बिमलेन्द्र निधिको दसैँमा विशेष कार्यक्रम छैन । उनले पारिवारिक भेटघाट, नेता कार्यकर्ता भेटघाट र मन्दिर दर्शनको योजना बनाएका छन् । निधिका स्वकीय सचिव विश्वासविक्रम कर्णका अनुसार निधिले दसैँ मध्यबानेश्वरस्थित आफ्नै निवासमा मनाउँदै छन् । दिदीसँग काठमाडौंमा टीका थाप्ने निधिको अहिलेसम्म गृहनगर जनकपुर जाने तय भइसकेको छैन ।

घुम्न जाने, पुस्तक पढ्ने कुनै कार्यक्रम नराखेका निधिको बढी कार्यक्रम कार्यकर्ता भेटघाट, मन्दिर जाने र नेताहरूसँग भेटघाटमा बित्दै छ । दसैँका लागि घरमै खसी नकाट्ने, तर बाहिरैबाट किनेर खाने तयारी भने निधिको छ । नेता निधि प्रायः बगलामुखी र दक्षिणकाली मन्दिर जाने गर्दछन् ।

टीका लगाउन स्याङ्जा पुग्छु: विष्णु पौडेल, महासचिव, नेकपा
अहिलेसम्म दसैँको खासै योजना बनिसकेको छैन । सम्भवत: जन्मस्थान स्याङजामा पुगेर परिवारसँग दसैँ मनाउनेछु । स्याङजामा दाजु भाउजुहरू, आफन्तजनहरू हुनुहुन्छ, उहाँहरूसँग पारिवारिक भेटघाट गरेरै दसैँ मनाउने योजनामा छु ।अहिलेसम्म अरू त्यस्ता योजना छैनन्, तर पनि दसैँका वेला पनि पार्टीका नेता–कार्यकर्तासँगको भेटघाट, सम्भावित कार्यक्रममा पनि समय बित्नेछ ।

हाम्रो शाकाहारी दसैँ: अष्टलक्ष्मी शाक्य, नेतृ, नेकपा
दसैँमा सामान्य तरिकाले नै मनाउँछाैँ । हाम्रो परिवारमा छोरा–छोरी–बुहारी कसैले पनि माछा–मासु खाँदैनन् । त्यसैले, दसैँ पनि शाकाहारी हुन्छ । आफन्तजन, पार्टीकै साथीहरूसँग भेटघाट कुराकानी हुन्छ ।बुबा–आमा हुँदा घरमा धेरै आफन्तजन टीका लगाइमाग्न आउनुहुन्थ्यो । अलि बढी रमाइलो हुन्थ्यो, तर उहाँहरू नभएपछि धेरै आफन्तजन आउनुहुन्न ।

दसैँको समय सदुपयोग गर्दै घरायसी आन्तरिक कामको व्यवस्थापन गर्छु । लेख्ने, पढ्ने, नभ्याइएका थाती रहेका काम पनि दसैँमै गर्छु ।

सामाजिक कामसँगै दसैँ: विश्वप्रकाश शर्मा, कांग्रेस प्रवक्ता
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको दसैँ घटस्थापनाअघि नै सुरु भइसकेको छ । केही दिनअघि काठमाडौं–झापा सम्पर्क समितिको आयोजनामा सुरु भएको रक्तदानमा रक्तदान गरी समाजसँग थप रचनात्मक हुने गरी उनी जोडिँदै छन् । उनले झापा क्षेत्र नम्बर १ मा स्वास्थ्य शिविर राखेका छन् । ‘जन्मगाउँमा सात आठ लाखको औषधि र एकदर्जन डाक्टरसहित स्थानीय गाउँ कमिटीको एक हजारको स्वास्थ्य परीक्षण गराउँदै छौँ,’ उनले जानकारी दिए, ‘नाक, कान, घाँटी, जनरल फिजिसियन, छाला, पाठेघर, ल्याबमा विभिन्न परीक्षणसहितका गरी हजारजनालाई सेवा दिँदै छौँ ।’

दसैँ मान्ने परम्परागत शैलीसँगै समाजसँग थप जोडिन यस्तो काम गर्न लागेको उनी बताउँछन् । यो दसैँमा नेता शर्माको घरपरिवार र गाउँपरिवारसँग रमाउने तयारी छ । शनिबार बेलुका छक्कापन्जा–३ हेर्ने र दसैँभर डा. शिवहरि दाहालले लेखेको ‘चाइना नेपाल इन्डियो ट्रयांगल: डार्क साइड अफ इन्डो नेपाल रिलेसन’ भन्ने पुस्तक पढ्ने योजना उनको छ ।

विधान मस्यौदाको व्यस्ततामा: पौडेल प्रदीप पौडेल, कांग्रेस नेता
कांग्रेसका युवा नेता प्रदीप पौडेलको यसपटकको दर्सैँ विधान मस्यौदामा बढी बित्ने भएको छ । मंसिर पहिलो हप्ता हुने महासमितिको बैठकमा प्रस्तुत गर्नुपर्ने विधानको तयारी गर्नुपर्ने भएकाले नीसहितका समितिमा रहेका नेताहरू व्यस्त छन् । दुई चरणसम्म विधानमा सुझाब संकलन गरेपछि सुझाबलाई समेटेर विधानलाई अन्तिम रूप दिने तयारीमा मस्यौदा समिति जुटेकाले यसटकको दसैँमा बिदा थोरै रहेको युवा नेता पौडेल बताउँछन् । ‘हाम्रो दसैँ विधान मस्यौदा गर्नमै बित्ने भयो ।

एक चरण जति छलफल गरेपछि विधानको ९५ प्रतिशत विषय टुंगिन्छन्,’ पौडेलले भने, ‘सुुझाबलाई कसरी समेट्ने र विधानमा राखिएका विकल्पलाई कसरी समेट्ने भन्नेमा हामी अन्तिम छलफलमा छौँ । विधानमै ३० असोजसम्म केन्द्रित हुनुपर्ने भएकाले दर्सैँको बिदा थोरै हुने भयो ।’ ३० गतेपछि एकपटक तनहुँ पुग्ने र परिवारसँग बसेर काठमाडौंमै दसैँ मनाउने तयारी उनको छ । यो वर्ष प्रकाशित पढ्न नभ्याएका राम्रा पुस्तक पढ्नका लागि दसैँको केही दिनको फुर्सद उपयोग गर्ने तयारी पौडेलको छ ।

पारिवारिक भेटघाटमा दसैँ: पम्फा भुसाल, नेतृ, नेकपा
३० असोजसम्म निर्वाचन क्षेत्रमा जनताका बीचमा शुभकामना आदान–प्रदान कार्यक्रममै समय बित्दै छ । ३० र ३१ असोजमा दिदी–बहिनी–भाइसँग गफ गरेर परिवारमा रमाइलो गरेर बिताउने योजना छ । २ कात्तिकमा आमाको हातको टीका लगाउँछु । टीका लगाउन आउने आफन्तजनलाई टीका लगाएर खाना खुवाउँछु । दसैँ एक प्रकारले ‘गेट टुगेदर’का रूपमा मनाउने योजना छ । समय मिलेमा बिहान गएर, बेलुकी फर्किन सक्ने नजिकै कतै घुम्नुपर्ला कि भन्ने पनि लागेको छ । (साभार : नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्