सेलेब्रिटिका दसैँ योजना



हिन्दु धर्मालम्बीको महान चाड बडादशैंले नेपालीको घर आगन छोइसकेको छ । राम्रो लाउने, मिठो खाने र मान्यजनबाट आशीर्वाद लिने पर्वका रुपमा समेत रहेको दशैलाई बिजया दशमी पनि भनिन्छ । घटस्थापनादेखि सुरु भएर कोजाग्रत पूर्णिमाका दिन समापन हुने दशै नेपालमा निकै उल्लासका साथ मनाइने गरिन्छ । सामान्यता आफ्नो परम्परालाई निरन्तरता दिने हेतुले चाडपर्व मनाइने गरिन्छ ।

सर्वसाधारणदेखि लिएर देश चलाउने नेता, ब्यापारीलाई समेत उत्तिकै रौनकताले छुने दशैलाई खर्चिलो पर्व पनि भनिन्छ । दशैमा खानपीन, मनोरञ्जन मात्र होइन, नयां ठाउं घुम्ने, नयां किताव पढ्ने, नया खोज अनुसन्धान गर्ने तथा अधुरा काम सक्ने लक्ष्य लिएका ब्यक्ति पनि भेटिएका छन् ।यसपालीको दशै नेता, ब्यापारी, बैंकर तथा कलाकर्मीले कसरी मनाउंदैछन् त ? भन्नेबारे नयाँ पत्रिकाले एउटा रिपोर्ट तयार पारेको छ ।

मालिकासँग दसैँ: रेखा थापा, अभिनेत्री
मेरो यसपालीको दसैँ मालिकामय हुनेछ । कार्तिक १६ मा रिलिज हुने भएकाले म त्यसकै प्रमोसनमा हुन्छु । मलाई दसैँ विशेष मन पर्ने चाड हो । टीकाको दिन घर विराटनगर हुन्छु । आमा, दाइ, भाउजूहरूबाट टीका लगाउँछु । आशीर्वाद माग्छु । दसैँको माहौल निकै रमाइलो लाग्छ । नवरात्रिभरि नौवटी देवीको पूजाअर्चना गरिन्छ । नारी पनि देवी हो । दुर्गा माताले असुरहरूको वध गरेर जसरी न्याय दिलाइन्, हामीलाई पनि सत्यको पक्षमा लड्ने सन्देश दसैँले दिन्छ । बच्चामा दसैँ भनेपछि नयाँ कपडा र दक्षिणाको लोभ लाग्थ्यो । तर, अहिले त्यस्तो हँुदैन । दसैँमा पिङ खेल्न भने मलाई निकै रमाइलो लाग्छ । बाटाबाटामा पिङ खेल्छु ।

मामाघरमा मनाइन्छ दसैँ: नाजिर हुसेन, अभिनेता
यसपालीको दसैँमा काम मै व्यस्त हुन्छु, घर जान पाउँदिन । मेरो आप्mनै घरमा चाहिँ दसैँ हुँदैन, तर मामाघरमा दसैँँ मनाउने भएकाले धेरैजसो मामाघरमै गएर दसैँँ मनाइन्छ । टीका लगाउने, मामाघरमा पैसाभन्दा पनि रमाइलोका लागि तास खेलेर बस्ने, पिङ खेल्ने, साथीहरूलाई भेट्ने गरेर दसैँँ बित्छ । शुभकामनाहरू धेरै आउँछन्, काममा धेरै व्यस्त भइरहने हुँदा कति वेला रमाइलो गर्ने फुर्सद हुँदैन ।

पिङ खेल्नुपर्ला: आर्यन सिग्देल, अभिनेता
मलाई दसैँ विशेष लाग्छ । दसैँका वेलाको मौसम निकै रमाइलो हुन्छ । न जाडो न गर्मी, सबैतिर हरियाली नै देखिन्छ । आफूभन्दा ठूलाको हातबाट टीका लगाएर आशीर्वाद लिने परम्परा निकै गजब लाग्छ मलाई । यसपालीको दसैँमा मेरो त्यस्तो नौलो योजना त केही छैन । विगतका वर्षमा झैँ आमाबाबु, आफन्तीको हातबाट टीका लगाउने, आशीर्वाद लिने ।

आफूभन्दा सानालाई टीका लगाइदिएर आशीर्वाद दिने । त्यही हो । मलाई जुवातास मन पर्दैन । खेल्न पनि जान्दिनँ । त्यसैले, मेरो खेलकुदको सर्कल छैन । घरमै बस्छु । नयाँनयाँ फिल्महरू हेर्छु । कतै पाएँ भने पिङचाहिँ खेल्नुपर्ला । मलाई पिङ खेल्न मन पर्छ ।

तास खेलेर जित्छु: नीता ढुंगाना, अभिनेत्री
दसैँ आउँदा मलाई घर (हेटौँडा) जान मन लाग्छ । यसपाली पनि फूलपातीको दिन घर जान्छु । आफ्नो घरपरिवारसँग दसैँ मनाउनुको रौनक नै वेग्लै हुन्छ । रातो टीका र जमराका साथमा आफूभन्दा ठूलाबडाको आशीर्वाद पाइन्छ, त्यो नै मलाई ठूलो लाग्छ । सानोमा त दक्षिणा कति पाइएला भन्ने लोभ लाग्थ्यो ।

पिङ खेल्न कहाँकहाँ कुदिन्थ्यो । अहिले भने मान्यजनको आशीर्वाद नै सर्वप्रिय लाग्छ । चाडपर्वमा तास खेल्न रमाइलो लाग्छ मलाई । घरपरिवार, साथीहरूका साथ तास खेल्छु । मैले जहिले पनि जित्दै आएकी छु । केही गरी हारेँ भने पनि आफ्नो पैसाचाहिँ असुल गरी छाड्छु । कामबाट पनि फुर्सद हुने भएकाले दसैँ आरामले बिताइन्छ ।

सुटिङले गर्दा दसैँको योजना छैन: झरना थापा, अभिनेत्री
घटस्थापनाको दिनबाट ए मेरो हजुर–३ को सुटिङ सुरु गरेकाले यसपालीको दसैँमा विशेष के गर्ने भन्नेबारे केही सोच्न सकेकी छैन । दसैँ मलाई निकै मन पर्ने पर्व हो । विगतका वर्षमा धुमधामसँग मनाउने गरेको हो । तर, यसपाली भने सुटिङका कारण परम्परालाई निरन्तर दिने काम मात्र होलाजस्तो छ ।दसैँमा आफूभन्दा ठूलाबडाको हातबाट टीकाजमरा लगाएर आशीर्वाद लिने प्रचलन बहुत राम्रो लाग्छ मलाई । देशविदेशमा रहेका दाजुभाइ, दिदीबहिनी दसैँको मौकामा घर फर्किन्छन् । पारिवारिक मिलनको माहौल बन्छ । त्यो निकै राम्रो पक्ष हो । सुटिङका कारण यसपाली दसैँको बिदा छोट्याउने भएकी छु । टीकाको दोस्रो दिन लोकेसन हेर्न मुस्ताङ जाने प्लान छ ।

बच्चामा हुन्थ्यो दसैँको रमाइलो: ऋचा शर्मा, अभिनेत्री
दसैँँको खासै केही योजना छैन । घरमै बस्ने, मीठो खाने, रमाइलो गर्ने, तास खेलेर दसैँँ बित्छ । पहिला दसैँमा घर धनगढी गइन्थ्यो, गाउँमा रमाइलो गरिन्थ्यो । अहिले सबैजना काठमाडांैमै हुनुहुन्छ । यतै मनाइन्छ । धार्मिक प्रचलनअनुसार नै ठूलाबडाको हातबाट टीका लगाएर दसैँ मनाइन्छ । दसैँँको खास रमाइलो बच्चा वेलामा हुन्थ्यो । नयाँ लुगा लगाउने, एउटा छुट्टैखाले उत्सकुता हुने अब आएर हामीलाई खासै हुँदैन ।

मम्मीसँग मागेरै आशिष लिन्छु: रजनी केसी, अभिनेत्री
घटस्थापनादेखि नवमीसम्म विभिन्न नौ शक्तिस्वरूपा देवीहरूको पूजा आराधना गरिने दसैँ मलाई निकै मन पर्छ । त्यसमाथि विजयादशमीको दिन आफूभन्दा ठूलाको हातबाट टीकाजमराका साथ पाइने आशिष मलाई बहुत मन पर्छ । दसैँको मौसम र माहौल नै वेग्लै हुन्छ । बच्चा वेलामा धेरैभन्दा धेरै दक्षिणाको लोभमा छरछिमेक, आफन्ती सबैकोमा टीका लगाउन कुदिन्थ्यो ।

अहिले त आशीर्वादको चाहना हुन्छ । मैले त मम्मीसँग मलाई यस्तो आशिष दिनुस् है भनेर पनि माग्ने गरेकी छु । केही समय बाहिर बसेर हालै काठमाडौं आएकी छु । अब दसैँमा आमा, आफन्तीको हातबाट टीका लगाउने, गाउँ त्रिशूली पनि जाने योजना छ । दसैँमा मीठोमीठो परिकार बनाएर खाने, पिङ खेल्ने अनि आफन्त, साथीहरूसँग भेटघाट गर्न निकै रमाइलो लाग्छ ।

नवरात्रिभरि व्रत बस्छु: भवानी राणा अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ
वडादसैँ मेरा लागि विशेष हुन्छ । दसैँमा नौरथाको व्रत बस्छु, पूजापाठ गर्छु । सप्तमीका दिन मुलघर नेपालगन्ज गइन्छ । अष्टमीमा बागेश्वरी मन्दिरमा पूजा हुन्छ । नवमीको दिनमा हवन पूजा गर्छु । दशमीको टीका लगाएर काठमाडौं फर्किन्छौँ । नौरथाको व्रत बस्न थालेको १८/१९ वर्ष भयो । अरू बिदामा परिवारै घुम्न जान्छौँ । तर, दसैँ बिदामा कहीँ जाँदिनँ । नेपालगन्जको घरमा हाम्रो परिवारिक जमघट हुन्छ । त्यहीँ टीका लगाउँछौँ । हाम्रो जमरा राख्ने घर नै नेपालगन्ज हो ।

पोखरामा मनाउँछु दसैँ: अनिल शाह, सिइओ, नबिल बैंक
यसपटक दसैँ पोखरामा मनाउने योजना छ । अघिल्लो दसैँ पर्वतको मल्लाज भिलेजमा मनाएका थियौँ । पोखरामा श्रीमती, छोरी, सासु–ससुरा जमघट भइन्छ । आमा बुढी हुनुहुन्छ । पोखरा जान सक्नुहुन्न । दशमीको अर्को दिन छोरीको बर्थ डे छ । हामी बर्थ डे मनाएर बेलुका काठमाडौं फर्किन्छौँ र आमाको हातबाट टीका लगाउँछौँ ।मलाई दसैँमा काठमाडौंबाहिर रमाउन मन पर्छ । किनकि काठमाडाैँमा सधैँ निकै दौडधूप हुन्छ । मलाई सर्वाधिक मन पर्ने ठाउँमध्ये पोखरा पनि हो । त्यसैले, दसैँका लागि पोखरा छानेको हुँ । दसैँ बिदा रिफ्रेस हुने समय हो । पहिला दसैँ बिदामा विदेश घुम्न पनि गइन्थ्यो । अचेल विदेश जान छोडेको छु । (साभार : नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्