
२७ असोज २०७५, काठमाडौं
परराष्ट्रविद्, पूर्व सांसद तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डा.राजन भट्टराईले स्थानीय सरकारका प्रतिनिधि, नेकपाका स्थानीय नेताहरु र आफ्नो संयुक्त प्रयासले कपन क्षेत्रको सडक र खानेपानीको समस्या समाधान गर्न निरन्तर क्रियाशील भै रहेको बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि डा. राजन भट्टराईको भिडियो मन्तव्य
नेपाल कम्युनिष्ट पार्टी बूढानीलकण्ठ–१० ले विजया दशमीको अवसरमा आयोजित शुभकामना आदान– प्रदान तथा चियापान कार्यक्रममा बोल्दै डा. भट्टराईले काठमाडौं क्षेत्र नं ४ मा सडक निर्माण कामलाई गति दिन लागि परेको बताउँदै मेलम्ची खानेपानी विस्तारको लागि २ अर्व १६ करोड बजेट विनियोजन गराउन सफल भएकोमा खुशी व्यक्त गरे ।


कार्यक्रममा डा. भट्टराईले तल्लो तहसम्म पार्टी एकताको काम नटुङ्गिएको कारण सरकारले गरेका कामहरुको समेत प्रचार हुन नसकेको बताए । आफूले निर्वाचन तथा सांसद हुँदा देखि नै स्थानीय सरोकारका विषयहरुमा बुझेको बताउँदै बुढानिलकण्ठ नगरपालिकामा ठुला पूर्वाधार विकासमा आफूले जोड दिएको बताए ।

पार्टीको आगामी केन्द्रीय सचिवालय र स्थायी समितिको बैठकले स्थानीय तहसम्म पार्टी एकताको प्रक्रिया टुंगिनेमा विश्वास व्यक्त गर्दै चाडपर्वहरु मनाउँदा संस्कार, स्वास्थ्य र शैलीमा ध्यान पुर्याउनु पर्नेमा जोड दिए ।

नेकपा बुढानिलकण्ठ–१० का नेता जगत प्रसाद निरौलाको अध्यक्षता र कुमार खरेलले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि डा. राजन भट्टराई, विशिष्ठ अतिथिहरुमा केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रदेश सभा सदस्य कुसुमकुमार कार्की, नगर उपप्रमुख रमादेवी राई, बूनपा ८,९,१०,११,१२ का वडा अध्यक्षहरु, जननिर्वाचित सदस्यहरु, नेकपाका स्थानीय नेताहरु, स्थानीय समाजसेवी तथा बुद्धिजीविहरुको बाक्लो उपस्थिति रहेको थियो ।






