
२७ असोज २०७५, काठमाडौं
मेरो अहङ्कार र मैमत्ताले
मेरो वय रब्बर झैँ
कहिल्यै तन्काउन सकेन
यदि तन्काउन सफल हुन्थ्यो भने पनि
एक निश्चित तन्काई पछि
मलाई लाग्छ, झ्वाट्ट छिन्थ्यो होला नै ।
मेरो रुपैयाँ र पैसाले
मेरो वय कहिल्यै किन्न सकिएन
न सोर्ह वर्षको वय नै
फिर्ता ल्याउन सकियो
किन्यो त फगत – ऐय्यासी, यस् आराम र घमण्ड
किन्यो त केवल – गरिबी पसिना
कमायो त केवल – पाप र गरिबको आँसु
दबायो त फगत – गरिबको हक
लगाइयो त गोता फगत – पापकुण्डमा
कुल्चियो त केवल – टुसाउनु लागेको गरिबीखुसी
अन्तत :
तीतो सत्य त यही पो रहेछ
बेजान मेरो लास
मलाई जलाउने दाउराको चिता
जलीसके पछि थुपृएको एक्मुठी खरानी
दुईबाल्टिन पानी घोप्ट्याएर सुईत्त बगाईदियो
रामनाम सत्य ! रामनाम सत्य !
न घमण्ड काम लाग्यो
न पापको हलोले गरिबीको छाती जोतेर
उमारेको बैईमानीको
धनको रूख नै काम लाग्यो मलाई
आखिरीमा चिताको आगोको लप्काले
मेरो अक्कडेको लाससङ्गै
मेरो कुवेरघमण्डको सिङ्पनि जलाई छाडे
आखिरी के कमाएछु त मैले ?
फगत गरिबीआत्माको निन्दा सिवाय
बरू गरिबले दया कमाउँछन्
तर मैले घृणाको काया कमाएछु ।
राजबाबु श्रेष्ठ ’सागर’
महोत्तरी, गौशाला न. पा. वडा न. १





