नेकपाको कार्यालय स्थापना



२३ असोज २०७५, फिदिम

पाँचथरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । तत्कालीन नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरको कार्यालयमा नेकपा पाँचथरको कार्यालय स्थापना गरिएको हो ।

फिदिममा आज आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फेले नेकपाको झण्डा उठाई पार्टी कार्यालयको उद्घाटन गरेका थिए । गत जेठ ३ गते एकता भएका एमाले र नेकपा (माओवादी केन्द्र)को जिल्ला तहमा एकता प्रक्रिया पूरा भएको छैन । एकता प्रक्रिया पूरा नहुँदा पार्टी गतिविधि सञ्चालनमा समस्या सिर्जना भएकाले प्रदेश कमिटीको निर्देशनबमोजिम पार्टी कार्यालय स्थापना गरिएको नेकपाका जिल्ला नेता एवं तत्कालीन माओवादी केन्द्र पाँचथरका इञ्चार्ज हर्कबहादुर नेम्वाङले जानकारी दिएका छन् ।

पाँचथरमा जिल्ला कमिटी तथा मातहतका कमिटीको एकताका लागि प्रदेश कमिटीले बनाएको आठ सदस्यीय कार्यदलले एकताको खाका बनाइरहेको केन्द्रीय सदस्य सम्बाहाम्फेले जानकारी दिए ।

आठ सदस्यीय कार्यदलमा केन्द्रीय सदस्य सम्बाहाम्फेसहित जिल्ला नेता हर्कबहादुर नेम्वाङ, राजकुमार भण्डारी, विशाल रसाइली, होमबहादुर जबेगू, भुवानीप्रसाद लिङ्देन, दिनेश लावती र तीवेन्द्रराज चापागाईं रहेका छन् ।

कार्यदलले बुधबारसम्ममा एकताको खाका तयार पारी प्रदेश कमिटीमा सिफारिश गर्ने जिम्मेवारी पाएको केन्द्रीय सदस्य सम्बाहाम्फेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्