
२३ असोज २०७५, बेत्रावती
भूकम्पले क्षति पुगेपछि पुनःनिर्माण गरिएको नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवास्थित सिसडोल स्वास्थ्य चौकी सोमबार समुदायलाई हस्तान्तरण गरिएको छ ।
‘भूकम्पपश्चात स्वास्थ्य सेवा सुधार कार्यक्रम’अन्तर्गत कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक तथा प्राविधिक सहयोगमा संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी)मार्फत निर्माण गरिएको सो भवन समुदायको स्वास्थ्य स्तरोन्नतिका लागि हस्तान्तरण गरिएको हो । भवन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले काठमाडौं उपत्यकाको फोहर विसर्जनका कारण विभिन्न रोग देखा पर्ने गरेकामा नयाँ भवनका कारण स्वास्थ्य उपचार सेवा प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।
ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडा (लामा)ले स्थानीयवासीको माग बमोजिम स्वास्थ्य चौकीमा ‘प्रयोगशाला’ निर्माणका लागि जनशक्ति एवं उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाए । रु एक करोडको लागतमा निर्माण गरिएको सो भवनमा बहिरङ्ग, प्रसूति, गर्भजाँच, औषधि कक्ष र कर्मचारी निवासको व्यवस्था रहेको स्वास्थ्य चौकीका इञ्चार्ज पर्शुराम अर्यालले जानकारी दिए । काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्स समेत यही स्वास्थ्य संस्थामार्फत सञ्चालन गर्न लागिएको छ ।
भवन हस्तान्तरण कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत योङ्ग सिक पार्क, कोइकाका नेपालस्थित आवासीय प्रमुख डा होङ क्यो किम, जिएनआइका नेपालस्थित आवासीय प्रमुख मिन हो चोइ, संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी)का प्रतिनिधि शान्ति काररञ्जित लगायतको उपस्थिति रहेको थियो । यहाँ ६ स्वास्थ्य चौकी भवन पुनःनिर्माण जारी छ । भूकम्पले जिल्लाका ८० स्वास्थ्य संस्थामा क्षति पुगेको थियो ।





