
२२ असोज २०७५, खोटाङ
खोटाङको साप्सुखोलाबाट ७ दशमलव १५ मेगावाट क्षमताको जलविद्युत उत्पादन गरिने भएको छ । थ्रीस्टार हाइड्रो पावर कम्पनी भक्तपुरले एक अर्ब ५० करोड लगानीमा जलबिद्युत् उत्पादन गर्ने भएको हो । उत्पादन हुने जलविद्युतका लागि राष्ट्रिय बाणिज्य बैंकको ७० र उपभोक्ताको ३० प्रतिशत शेयर लगानी रहनेछ । दुई वर्षभित्र सम्पन्न गर्नेगरी काम थालिएको छ ।
साप्सुखोला जलविद्युत हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सिमाना स्थित बेलडाँडाबाट उत्पादन गरिने हाइड्रोपावर कम्पनीका अध्यक्ष कुमार खरेलले बताए ।
कुल आम्दानीको दुई प्रतिशत स्थानीय तहलाई दिने गरी काम थालिएको काम अहिलेसम्म दश प्रतिशत सम्पन्न भएको छ । जलविद्युत उत्पादनका लागि ८५ रोपनी सरकारी र ४७ रोपनी निजी जग्गा खरिद गरेर कम्पनीको नाममा पास गरि सकिएको खरेलले बताए ।
विद्युत उत्पादनपछि प्रति वर्ष २२ करोड आम्दानी गर्ने लक्ष्य राखिएको जलविद्युतका लागि सडक र सब–स्टेशन निर्माण, पावर हाउस निर्माण गर्ने ठाउँ सम्याउने, सब–स्टेशनसम्म पोल गाड्ने र तार टाँग्ने काम सकिएको जनाइएको छ । बेलडाँडामा उत्पादित विद्युत राजापानीस्थित पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेशन मार्फत सिधै केन्द्रीय प्रशारण लाइनमा जोडिने छ ।
पिपिपि मोडेलमा सञ्चालन हुने साप्सुखोला जलविद्युतको भौतिक निर्माणको काम ५० प्रतिशत पुगेपछि शेयर खुला गरिने कम्पनीले जनाएको छ । तीस वर्षपछि प्राधिकरणलाई स्वतः हस्तान्तरण गर्ने गरी निर्माण थालिएको साप्सुखोला जलविद्युत स्थानीयवासी र लगानीकर्ताका लागि छुट्टाछुट्टै शेयर वितरण गरिने जनाइएको छ ।
जिल्लामा उत्पादन भएको जलविद्युत मध्ये सबैभन्दा ठूलो साप्सुखोला जलविद्युतमा स्थानीय ३० जना युवाले रोजगारी समेत पाउने जनाइएको छ ।





