गैसस महासंघ बूढानीलकण्ठको संयोजकमा प्रदीप डंगोल



२२ असोज २०७५, काठमाडौं

नेपाली गैह्रसरकारी संस्थाहरुको छाता संगठन गैह्रसरकारी संस्था महासंघको बूढानीलकण्ठ नगरपालिका स्तरीय समन्वय समितिमा गैसस महासंघमा लामो समयदेखि क्रियाशील बाल अधिकारकर्मी प्रदीप डंगोलको नेतृत्वमा ७ सदस्यीय समिति छनोट भएको छ।

नवगठित समितिको नामावली :

अध्यक्ष : प्रदीप डंगोल
सचिव : ध्रुवप्रसाद घिमिरे
सदस्य : डा. केशव श्रेष्ठ
सदस्य : प्रदिप कुमार श्रेष्ठ
सदस्य : श्याम केसी
सदस्य : उर्मिला नेपाली ढुंगाना
सदस्य : रोज गार्डेन प्रधान छानिएका छन्।

बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा नगरक्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरुविच परिचयात्मक तथा गैससहरूले नगरविकासमा पुर्याउने योगदान पहिचानको लागि आयोजित भेलाको अवसर पारेर गैसस महासंघ बूढानीलकण्ठको गठन गरिएको संयोजक डंगोलले परिवर्तन खबरलाई बताए ।

भेलाको उद्घाटन गर्दै नगरप्रमुख उद्धवप्रसाद खरेलले नगरपालिका कुनै पनि वडामा दर्ता भएका तर नगरविकासमा योगदान नगर्ने संस्थाहरुलाई दर्ता सिफारिस दिन नसक्ने भन्दै स्थानीय स्तरमा काम गर्न चाहने संस्थाले नगरपालिकामा मात्रै दर्ता गरेरै स्थानीय तहमा काम गर्न सक्ने बताए ।

औपचारिक कार्यक्रमको अध्यक्षता गर्दै नगर उपप्रमुख रमादेवी राईले गैसससँग मिलेर काम गर्न नगरपालिका तयार रहेको बताउँदै सरकारका नीति तथा कानुनहरु सामाजिक संस्थाले मान्नुपर्नेमा जोड दिईन् ।

बूढानीलकण्ठ नगरपालिका सामाजिक विकास शाखाकी तिला भट्टराईले संचालन गरेको कार्यक्रममा गैसस महासंघ जिल्ला उपाध्यक्ष रत्न उप्रेती, शैक्षिक अभियन्ता बाबुकाजी श्रेष्ठले गैसस महासंघ बूढानीलकण्ठले नगरपालिकाको विकासमा योगदान पुर्याउने र आफ्नो भूमिका समेत सशक्त बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्