गाईपालनबाट पचास हजार आम्दानी



२२ असोज २०७५, पाल्पा

रामपुर नगरपालिका–७, मलेङ्गका नारायणप्रसाद भट्टराईले रु एक लाख ऋण लिई शुरु गर्नुभएको गाईपालनबाट अहिले मासिक रु ४० देखि रु ५० हजारसम्म आम्दानी गरिरहेको छ ।

अहिले भट्टराईको फार्ममा १३ गाई छन् । दैनिक ४० लिटर दूध उत्पादन हुन्छ । दुई वर्ष मलेसिया, तीन वर्ष युनाइटेड अरब इमिरेटस् (युएइ) तथा एक वर्ष कतारमा काम गरेको भट्टराई गाईपालनको कमाइले सन्तुष्ट छन् । पाँच वर्ष अघि अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाबाट उनले रु एक लाख ऋण लिएको हो । उनले एउटा उन्नत जातको गाई खरीद गरी गाईपालनमा हात हालेको हो ।

“तीन वर्षमा पूरै सावा ब्याज फिर्ता गरेँ,” उनँले भने । भट्टराईले रु १८ हजारमा गाई खरीद गरी गाईपालन थालेको हो । दूध बेचेको कमाइले फार्म निर्माण गरेको हो । दूध बिक्रीको कमाइबाट उनले छोराछोरी पढाउँदै आएको छन् । भट्टराईले प्रविणता प्रमाणपत्र तह तथा उनका श्रीमती यमुना न्यौपानेले स्नातक तहसम्मको अध्ययन गरेको छ । “विदेशमा भन्दा स्वदेशमै बसेर काम गर्दा मनग्य आम्दानी गर्न सकिन्छ,” यमुनाले भनिन् ।

भट्टराई दम्पतीलाई सधैँ दूध ढुवानीको समस्या हुन्छ । “ किसान आफैले डेरीसम्म दूध ढुवानी गर्नुपर्ने बाध्यता छ । दूधको उचित मूल्य पाउन समस्या छ,” उनले भनेका छन् । घाँस, दाना, पानी र औषधि उपचारमा सधैँ समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्