
२१ असोज २०७५, काठमाडौं
साततले आनीगुम्बा ढल सडक सरोकार समितिले स्थानीय सरकारका प्रमुख उद्धव खरेल, वडाध्यक्षहरु १० का नवराज भट्टराई, ११ का राजु अधिकारी, १२ का शम्भुप्रसाद भट्टराई सहितको टोली र स्थानीय सरोकारवालासँग समयमै ढल सडक सम्पन्न गर्ने उद्देश्यले बृहत छलफल कार्यक्रम आयोजना गरेको छ ।
जनप्रतिनिधि सहित स्थानीय सरोकारवालासँग समयमै ढल सडक सम्पन्न गर्न आयोजित छलफलको भिडियो :

कार्यक्रममा वडा नं. १२ का वडाध्यक्ष शम्भु भट्टराईले डा. राजन भट्टराईको पहलमा बजेट परेको भएपनि यसलाई राजनीतिक एजेण्डा नबनाई स्थानीय तथा सरोकारवालाहरुले सहयोग गर्नुपर्ने बताए ।

यसैगरी वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारीले पटकौं डुबानमा परेकाले आकाशमा बादल लाग्दा समेत त्रसित हुनु परेको अवस्था रहेको बताउँदै सवैले सहयोग गरी समयमा नै ढल सडकको काम सक्नुपर्ने धारणा राखे ।

वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईले जसरी पनि समयमा नै आनीगुम्बा सात तले सडक ढल सम्पन्न गर्न स्थानीय सरकार लागि पर्ने बताउँदै यसका लागि ढलको काम सकेर मात्र सडक बनाउने प्रतिवद्धता जनाए ।
नेपाली काँग्रेसका स्थानीय प्रतिनिधि राजाराम बुढाथोकीले नवराज भट्टराईले भनेझैं पहिले ढलको काम सकेर मात्र बाटोको काम गर्नुपर्ने बताए ।

नगरप्रमुख उद्धवप्रसाद खरेलले यज्ञमति खोलालाई स्थानीय जनताले मिचेको कारणले समस्या बढेको बताउँदै बाढीबाट जनतालाई मुक्त गराउन आफू प्रतिबद्ध रहेको जनाए ।
सडक ढल निर्माणको काम तल माथि जहाँबाट भएपनि स्थानीय सरकारले नपुग पाँच करोडै थपेर भएपनि जनताको समस्या समाधान गरिछाड्ने बताए ।

साततले आनीगुम्बा ढल सडक सरोकार समितिका संयोजक तथा पूर्व गाविस अध्यक्ष मिठाराम अधिकारीले तोकिएको समयमा ढल सडकको काम सम्पन्न गरेरै छाड्ने प्रतिवद्धता जनाए । यदि समयमै काम सम्पन्न नगरे आफूलाई जुत्ताको माला समेत स्वीकार्य हुने बताउँदै विकास निर्माणको काममा सवैलाई सहयोग गर्न अनुरोध समेत गरे ।

समितिका सचिव शम्भु पोखरेलद्वारा संचालित कार्यक्रममा स्थानीय, सरोकारवालाहरुले समेत आ–आफ्नो धारणा राखेका थिए ।






