
२१ असोज २०७५, इटहरी
देश संघीय संरचनामा गएसँगै र सरकारको गठन भयो तर प्रदेश सदनको बैठक बसेको ८ महिना पुरा हुन लाग्दा समेत प्रदेश १ ले नाम र राजधानी पाउन भने सकेको छैन । गएको असोज १५ र १६ गते बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश १ स्तरीय संसदीय दलको बैठकले प्रदेशको नाम र राजधानीको टुङ्गो लगाउने बताईएपछि यो बिषय एकाएक माथि उठ्यो ।
राजधानीको माग गरिरहेका स्थानका नागरिक समाजदेखि बिभिन्न संघसंस्था एकै पटक जुरमुराएका छन् प्रदेश १ भरी नै बिभिन्न भेलाले पास गरेका ज्ञापनपत्र बुझ्न प्रदेश सरकारलाई भ्याईनभ्याई छ ।
यसो त प्रदेशका मन्त्री अस्थाई मुकामलाई नै स्थाई मुकाम बनाउन कम्मर कसेका छन् भने । नेकपाका बहुमत संसद बिराटनगरलाई प्रादेशिक राजधानी नमान्ने पक्षमा देखिन्छन् । यता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस यो बिषयमा मुख नखोल्ने पक्षमा देखिन्छ । संसदीय दलका नेता समेत रहेका प्रदेशका मुख्यमन्त्री शेरधन राई बृहत बिराट राजधानीको अवधारणाका साथ अगाडि बढिरहेका छन् तर राजनैतिक बिश्लेषक तथा बिपक्षी दल यो कुरा मान्न तयार देखिदैनन् । राजनैतिक बिश्लेषकको बिश्लेषणमा यसो गरे हालालाई समस्या समाधान भएपनि दिर्घकालिन समाधान यो नहुने बताउँछन् ।
बिराटनगरलाई राजधानी मान्न नसकिने धेरै संसदको एउटै तर्क छ सिमा क्षेत्रको नजिकै प्रादेशिक राजधानी बनाउनु हुँदैन । सुरक्षाका दृष्टीले समेत सिमाक्षेत्रमा अपाराध धेरै हुने र अपराधी बँच्ने सम्भावना प्रवल हुँदा बिराटनगरलाई राजधानी बनाउन नहुने बिज्ञहरुको तर्क छ ।
अन्तर्राष्ट्रीय अभ्यास अनुसार राजधानी सिमा क्षेत्र भन्दा ४० किलोमिटर टाढा बनाउनु उपयुक्त हुन्छ । भु–सीमा रहेका देश र प्रदेशले यहि कुरालाई अभ्यास गर्र्दै आएका छन् । यसरी हेर्दा प्रदेश १ दुई छिमेकी देश भारत र चीनसँग सिमाना जोडिएको प्रदेश हो । बरिष्ठ सिमाबिद् बुद्धीनारायण श्रेष्ठका अनुसार दुबै देशको सिमा अवस्था र हाल भईरहेको बिकासको गतिलाई हेर्दा प्रदेश १ को स्थाई राजधानी संखुवासभा, ताप्लेजुङ र तेह्रथुमको संगमस्थल बसन्तपुर बजारलाई बनाउनु् उपयुक्त हुन्छ ।
‘फराकिलो स्थान छ, पुर्वाधार निमार्ण गर्न समेत सकिन्छ, नयाँ शहर बन्छ । हाललाई अस्थाई बाटै चलेकै छ ।’ उनले भने ‘सिमा बिज्ञान र अन्तरराष्ट्रीय अभ्यासलाई हेदा त्यहि ठाउ उपयुक्त हुन्छ ।’
बिराटनगरमा नयाँ संरचनाको स्थापना गर्ने अवस्था नभएको धरानको समेत सोहि अवस्था भएकाले बैकल्पीक स्थान इटहरी भएपनि त्यहाँको भुमि अपचलन हुने सम्भावना हुदा कृषी र पर्यावरणमा असर पुग्ने उनको भनाई छ ।
‘इटहरी पनि बिकल्प त हो तर त्यहाँ भु–उपयोगको कार्यबिधी कडाईका साथ लगाईयो भने मात्र त्यहाँ राजधानी राख्न मिल्छ ।’ उनले भने ।
सिमाक्षेत्रको राजधानीमा आक्रमण भए रोक्न तयारी गर्ने अवस्था समेत नहुनले बिराटनगर राजधानी नहुने उनको तर्क छ ।





