
१८ असोज २०७५, काठमाडौं
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ५ गते संयुक्त राष्ट्र सङ्घ महासभाको ७३ औँ अधिवेशनमा भाग लिई प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कीएका छन् । विहिबार दोहा हुँदै प्रधानमन्त्री ओली काठमाडौं आई पुगेका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्र सङ्घ महासभाको ७३ औँ अधिवेशनलाई सम्बोधन गर्नुका साथै सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओलीले सान होजेमै शान्ति विश्वविद्यालयले (युनिभर्सिटी फर पिस) प्रदान गरेको मानार्थ डाक्टरको उपाधि स्वीकार गरेका थिए । प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।





