
१८ असोज २०७५, ओखलढुंगा
ओखलढुंगा मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं ६ का युवाहरुले फुटबल लगायत विभिन्न साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरी दशैं मनाउने निर्णय गरेका छन् ।
बदलिदो समाज, समय र चाडपर्वमा विभिन्न किसिमका नकारात्क गतिविधीहरु जुवातास खेल्ने, मदिरा सेवन गरि झैं–झगडा गर्ने प्रवृत्तिहरु बढ्दै गएको हुँदा यसको नियन्त्रणका लागि युवाहरुले फुटबल प्रतियोगिताको साथै साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेका हुन् ।
विशेष गरि राईहरुको बाहुल्यता रहेको गाउँमा विभिन्न चाडपर्वहरु आफ्नै टोल र वस्तीमा मनाउने गरेका छन् ।
समाजसेवी युवा नरेश राईले आफ्नै घर र टोलमा मात्र मनाउने चाडपर्वहरुका सिमित प्रचलनललाई अन्त्य गरि एकता र भाईचाराको सम्बन्ध विस्तार गर्नका लागि कार्यक्रम आयोजना गरेको दावी गरेका छन् ।
व्याकुलमाईला फुटबल ग्राउण्ड सोक्मा टारमा हुने खेलमा ४ टिमको सहभागीता रहनेछ भने टिमको दर्ता शुल्क १० हजार रहने आयोजकले बताएको छ । टिम दर्ता मार्फत जम्मा भएको रकम सामाजिक सेवामा लगाउने समेत बताईएको छ ।
नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दीपावली मनाउनका निम्ती देश तथा विदेशबाट गृह जिल्ला फर्केका दाजुभाई तथा दिदिबहिनीहरुसँगको भेटघाट, शुभकामना आदानप्रदान गर्नका निम्ती प्रतियोगिताको आयोजना गरिएको आयोजक कमिटीका भिमराज राईले बताएका छन् ।





