खानेपानी मन्त्री स्वेदश फर्किंदै भनिन्, ‘सरसफाइ तथा ढलको क्षेत्रमा गम्भीर हुनुपर्ने समय आयो’ 



१७ असोज २०७५, काठमाडौं

खानेपानी मन्त्री बिना मगर महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी भई आज बुधबार स्वदेश फर्केका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खानेपानी मन्त्री मगरले सम्मेलनमा सहभागी सबै राष्ट्रहरुले सरसफाईको क्षेत्रमा साझा संकल्प बनाउनु पर्नेमा जोड दिएको जानकारी दिए । उनले सरसफाई क्षेत्र सबैका लागि साझा एजेण्डा भएको बताईन् । मन्त्री मगरले भनिन्, ‘अहिले सबै राष्ट्रले सरसफाई तथा ढलको बारेमा चिन्ता र चासो देखाएका छन् । नेपालले सरसफाईको क्षेत्रमा अरुको भन्दा राम्रै उपलब्धि हासिल गरेको छ । ढलको व्यवस्थापन गर्नु अहिले सबै राष्ट्रका लागि चिन्ताको विषय बनेको देखियो । हामी पनि ढलको समुचित व्यवस्थापनमा जोड दिईरहेका छौं ।’

मन्त्री मगरले राज्यका सबै निकायले सरसफाई र ढलको क्षेत्रमा विशेष गम्भीर भएर सोच्नुपर्ने अवस्था आईसकेको बताईन् । उक्त सम्मेलनमा भाग लिन खानेपानी मन्त्री मगर गत शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

महात्मा गान्धीको १५० औं जन्म जयन्तीको अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा नेपालको तर्फबाट उनले भाग लिएका थिए । सम्मेलनमा खानेपानी मन्त्री सहित खानेपानी तथा ढल निकास विभागका उप महानिर्देशक सुनिलकुमार दास समेत सहभागी थिए । सम्मेलनमा ६० भन्दा बढी देशका खानेपानी तथा सरसफाई मन्त्रीहरु सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्