
तपाई सबैले थाहा पाएको कुरा हो रुख जे को हो, त्यसमा त्यसैको फल लाग्छ । तर यहाँ यस्तो रुख पनि छ जसमा एकथरी होइन ४० थरी फल फल्दछन् । यो विचित्र अमेरिकामा भएको होे । त्यहाँका एक भिजुअल आर्टका प्रोफेसरले एउटा अद्भुत रुख तयार पारेका छन् ।
ट्री अफ ४० नामले चिनिने यो रुखमा ४० प्रकारका फल फलाइएको छ । सेराक्यूज विश्वविद्यालयका भिजुअल आर्टस्का प्राध्यापक साम भान एकेनले यो रुख तयार पारेका हुन् जसको मूल्य झण्डै ३० हजार डलर पर्छ ।

सन् २००८ मा न्युयोर्क स्टेट एग्रिकल्चरल एक्सपेरिमेन्टका क्रममा २ सय प्रकारका विरुवा भएको एउटा संकटापन्न बगैँचा देखेपछि एकेनलाई यस्तो बहुफली विरुवा तयार गर्ने इच्छा जागेको थियो ।

उक्त बगैँचामा कैयन् प्राचीन तथा दुर्लभ प्रजातिका वनस्पती पनि थिए । उनले उक्त वगैँचलाई भाडामा लिए र फलफूलका बोटहरुको कलमी प्रविधि मार्फत ४० प्रकारका फल फल्ने एउटै रुख तयार पारे । उनले तयार पारेका यस्ता बहुफली रुखहरु अहिले अमेरिकाका विभिन्न ठाउँमा रोपिसकिएको छ ।





