
१४ असोज २०७५, इटहरी
प्रदेश नं १ मा नेकपाको संसदीय दलले राजधानीको विषय टुंगो लगाउन भन्दै संसदीय दलको बैठक १५ र १६ गतेलाई आह्वान गरेपछि माहोल तातेको छ । पछिल्लो समय मुख्यमन्त्री शेरधन राईले राजधानीको विषयलाई पनि विकेन्द्रीत गर्नुपर्ने अभियान छेडेपछि त्यसले एकाएक माहोल तताएको हो ।
कार्यपालिका र व्यवस्थापिका छुट्टाछुट्टै ठाउँमा राख्ने सरकारको तयारी अनुसार मुख्यमन्त्री राईले बृहत् विराटनगर राजधानी हुने बताउँदै आएका छन । तर त्यस्तो बृहत विराटनगर भनेको हालको विराटनगर, कटहरी, विराटचौक, केराबारी, धरान, इटहरी, इनरुवा, दुहबी र बूढीगंगालाई समेटेर बन्ने ठूलो शहर हुने कल्पना गरिएको छ ।
बृहत विराटनगर वा विकेन्द्रीत राजधानीको विषयलाई लिएर सामाजिक संजालमा पनि विभिन्न टीकाटिप्पणी सुरु भएको छ । राजनीतिज्ञ मणि दाहालले राजधानी विकेन्द्रित गर्दा दीर्घकालीन विवाद खडा हुने टिप्पणी गरेका छन । काँग्रेसले भने विकेन्द्रित गरेर राजधानी बनाउने कुरा स्वीकार्य नहुने भन्दै विरोध गरेको छ । नेकपाले भने १५ र १६ गते बस्ने दलको बैठकले राजधानीको विषय टुंग्याउने बताएको छ ।





