
१३ असोज २०७५, सुनसरी
पूर्वी तराईको सिमावर्ती जिल्ला सुनसरीमा खुल्ला सिमानाले चुनौती सिर्जना गर्दै गएको छ । खुल्ला सिमानाको फाइदा उठाउँदै सुनसरीमा अपराधिक क्रियाकलापमा बृद्धी भएको हो । पछिल्लो समय सुनसरीको सदरमुकाम इनरुवाबाट प्रहरीले ८ किलो चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको विशेष टोलीले इनरुवा ३ स्थित पुर्व पश्चिम राजमार्गमा सुरक्षा जाँच गर्ने क्रममा भारतीय नागरिकले लुकाई छिपाई ल्याएको चाँदीको गहना र नगद बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भारतीय नागरिक विश्वनाथ जानाको साथबाट ८ किलो चाँदीका विभिन्न प्रकारका गहना सहित भारतीय रुपैयाँ ४ हजार २ सय २० रुपैयाँ र ५ हजार ४ सय ४० नेपाली रुपैयाँ बरामद भएको हो ।
बिरगंजबाट काकडभिट्टा तर्फ जाँदै गरेको यात्रुवाहक बसमा चढेका विश्वनाथको साथबाट चेकजाँचको क्रममा संखुवागाँछीबाट ठुलो परिणामको चाँदी बरामद भएको हो । यता सुनसरी प्रहरीले यस्ता अवैध रूपमा हुने कारोबार रोक्न सुरक्षा जाँचमा कडाई गरेको जनाएको छ ।
लघुवित्तको रकम लुट्ने गिरोहका सातजना पक्राउ
जिल्ला प्रहरी कार्यालय सिरहा भदौ २८ गते अपराह्न लघुवित्तको रकम उठाएर फर्किंदै गरेका दुई कर्मचारीलाई लुटपाट गर्ने गिरोहका सात जनालाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले बिहीबार साँझ पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न रहेका सातजना र पक्राउ परेकाहरुको साथबाट बरामद गरिएका सामानहरु समेत सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा धनुषाको पूर्वी भेगमा पर्ने विदेह नगरपालिका १ का २० वर्षीय नरेश कुमार ठाकुर, १९ वर्षीय रविन्द्र ठाकुर, कमला नगरपालिका ६ हतमुन्डाका १९ वर्षीय राजगिर भनिने रमेशकुमार महतो, ठाडी झिझा टोलका ३८ वर्षीय श्याम सुन्दर ठाकुर पक्राउ परेका छन् । प्रहरीले उक्त लुटपाटमा संलग्न धनुषाकै तारापट्टी सिरसिया गाउँपालिका पूर्वारी टोलका २२ वर्षीय आजाद भनिने चन्द्र शेखर यादव, कमला नगरपालिका ८ हरिणेका २७ वर्षीय शत्रुधन ठाकुर र भारत बिहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत छतौना २ का २७ वर्षीय किशोर कुमार शर्मा रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।





