संघीयता सफल बनाउनु सबैको काम : मुख्यमन्त्री राई



१३ असोज २०७५, इटहरी

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीको काम जनताको सेवासँगै संघीयताको कार्यान्वयन भएको बताएका छन् । स्थानीय जनप्रतिनिधीको काँधमा समृद्धिको बाटोतर्फ अघि लैजाने महत्वपूर्ण जिम्मेवारी रहेको राईको भनाई छ ।

मुख्यमन्त्री राईले गाउँपालिका महासंघ नेपालको प्रदेश नं १ को प्रथम अधिवेशनको इटहरीमा उद्घाटन गर्दै सङ्घीयता सफल तुल्याउने जिम्मेवारीलाई ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री राईले सङ्घीय, प्रादेशिक सरकारदेखि स्थानीय तहसम्म धेरै ऐन कानूनी एवं विधि विधान बनाउन बाँकी रहेको विषय तर्फ सचेत गराउँदै मौजुदा उपलब्धीलाई अधिकतम सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जननिर्वाचित प्रतिनिधिबाट हुने लापरवाही वा कमजोरी गम्भीर हुने भएकाले सकेसम्म त्रुटि नहोस् भनेर जनताकै माझमा बसेर काम गर्ने बानीको विकास गर्न समेत गाउँपालिका महासङ्घका पदाधिकारीलाई आग्रह गरे ।

प्रदेश एक नमुना प्रदेश बन्नका लागी सबै स्थानीय जनताको भावनालाई बुझेर गाउँपालीकाले काम गर्नपर्ने धारणा उपस्थित गाउँपालीकाका अध्यक्ष तथा उपाध्यक्षले राखेका छन् । स्थानीय तहमा कानुनी जटिलता, कर्मचारीको अभाव तथा प्रदेश र संघीय सरकारले छिट्टै कानुनको निर्माण गरी कार्यान्वयन गर्नुपर्ने कार्यक्रमका संयोजक तारा बाहादुर काफ्लेले बताए । गाउँको विकासमा सबै इमान्दार भएर एक जुट हुनुपर्ने अधिकांशले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्