
हामी सुरक्षीत छैनौँ । हामी अर्थात् छोरी । घरबाटै असुरक्षित, छिमेकीबाटै असुरक्षित, कार्यालयमा, पार्कमा, यात्रामा जताततै असुरक्षित । छोरीलाई जोगीएर हिँड्नुपर्छ भनेर सिकाउने हाम्रो समाजले छोरालाई अरुलाई गलत नजरले हेर्नु हुन्न भनेर कहिल्यै सिकाएन ।

बिनासहमति सम्भोग हुँदैन, बलात्कार मात्र हुन्छ । यतिमात्रबु झिदिए पनि बलात्कारका घटनामा कमी आउने थियो । यौन चाहाना हरेक स्वस्थ व्यक्तिमा हुन्छ । तर अब प्रश्न उठ्छ, के बलात्कारीले आफ्नो यौन चाहानालाई नियन्त्रण राख्न नसके कै हो त ? के उनीहरुको एक्सेसिभ सेक्स डिजाएरको भागेदार बालिका देखी वृद्धासम्म हुनुपर्छ ? स्तन, योनी र तिघ्रा देख्दा मात्रै के उनीहरुले आफ्नो होश गुमाउनु पर्छ ? एउटा कुरा नबिर्सिनु, हामी जन्मीएको त्यहि योनीबाट नै हो । मेरा एक शिक्षक अनिल तिमल्सिनाले फेसबुकमा स्टाटस राख्नुभएको थियो, “मन, तन र वैचारीक सामिप्यताबिना कुनै स्त्री आकारप्रति उत्तेजीत हुने पुरुष सेक्सी हैन रोगी हो । उपचार गराऔँ ।’’
अचेल दिनहुँ सुनिरहने शब्द, बलात्कार । सबैभन्दा जटिल विषय र अनि जघन्य अपराध । पत्रपत्रिका होस्, या टेलिभिजन, रेडियो या सामाजीक सञ्जाल, आज भोली बलात्कारको समाचार कहिल्यै छुट्दैनन् । बलात्कार, हरेक दिन मुख्य हेडलाइन बनिरहेको छ । फेसबुकमा साथीहरुले यति धेरै ग्रुपमा जोडिदिएका छन्, ग्रुपको नाम सुन्दै दिक्क लाग्छ । बलात्कार बिरुद्धको महाअभियानमा जुटौँ, बलात्कार बिरुद्ध एकजुट हौँ, बलात्कार विरुद्धको हाम्रो अभियान, बलात्कार किन? आदी ग्रुपका नामहरु हुन् । कहिलेसम्म लागी रहने बलात्कार विरुद्ध ? कहिलेसम्म गरिरहने हिंसाको सामना ?
पाइलै पिच्छे बलात्कार हुन थाले पछि, अब देश कता जाँदै छ भनेर सोच्नु ? वीरगंजकी १२ वर्षिया बालिका धारामा पानी लिन जाँदा बलात्कृत भईन् । छिमेकीले थाहा पाएर उनको उद्धार भयो । मोरङमा आफ्नै बुवाबाट सुस्त मनस्थिती भएकी एक किशोरी बलात्कृत भईन् ।
इलाममा ७३ वर्षकी वृद्धा बलात्कृत भईन् । कञ्चनपुरमा १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । घटना साम्य भएको छैन् । दोषी पत्ता लगाउन गाहृो भयो भन्दै पत्रपत्रिकामा समाचार आईरहेका छन् । भर्खरै बलात्कार प्रयासको प्रतिकार गर्दा पोखराकी १० वर्षिया श्रेयाको हत्या भयो । यि सबै घटनाको विवरण लेखेर साध्य छैन । एकपछि अर्को गरी यति धेरै घटना घटिरहेका छन् कि यस्तो लाग्छ,अब छोरी मान्छे हुनुको भयले काँप्दै हिड्नु पर्नेछ । योनी भएकै कारणले डराउनु पर्नेछ।
यहि सम्झेर भाउन्न छुट्छ, अरुको चाहानाबिना मान्छेहरु कसरी बलात्कार गर्न सक्छन् ? त्यतिमात्र होइन जब काम वासना शान्त हुन्छ, तब घटना बाहिर आउला भनेर पीडितको हत्या गरि दिन्छन् । घटनापछि जब अनुसन्धान हुन थाल्छ, उनीहरुको पछाडि कुनै पावरवाला उभिदिन्छ । अनि केस खत्तम । पीडितलाई न्याय देउ भनेर निस्कने जुलुस पनि साम्य । यतिमात्र होइन, सामुहिक बलात्कार घटनामा मिलापत्र गर्न दबाब आउँछ । घटना पछाडी पैसा बिक्छ । अपराधी समातिइहाले पनि केहि वर्ष सजाय काटेर फर्कि हाल्छ । अब भन्नुहोस, बलात्कारको सजायको मापदण्ड के राख्ने ? पीडितले न्याय माग्न कहाँ जाने ? जबसम्म बलात्कारीहरु समाजमा स्वतन्त्र डुल्छन्, हामीहरुले कसरी आनन्दको सास फेर्ने ?
आज-भोली बलात्कारीलाई फाँसी देउ भन्ने नारा जताततै गुञ्जिरहेको छ । यसको पक्ष र विपक्षमा विभिन्न व्यक्तिहरुको आ–आफ्नै मत राखीरहेका छन् । संविधानको धारा १६ को उपधारा २ मा लेखिएको छ, कसैलाई पनि मृत्युदण्डको सजायदिने गरी कानुन बनाइने छैन । संसदमा पनि फाँसीको विषयमा ठुलै चर्काचर्की चलिरहेको छ । फाँसीको माग मागमै मात्र सिमित हुने हो या बलात्कारीलाई दिने ठुलो सजायका रुपमा टुङ्गिने हो, यसको विषयमा केही भन्न सकिँदैन ।
तर साँचो मनले यहि भनिरहन्छ ,कसैको जीवन बर्बाद गरेर बाँच्ने हक कसैलाई छैन । कहिलेकाहीँ आफु छोरी भएकामै डर लाग्छ । सन्तानका रुपमा छोरी जन्माउने सपना देख्दा पनि मन ढुलमुल हुन्छ । कुनै युवकको प्रेम प्रस्ताव अस्विकार गर्दा एसिड आक्रमणमा परिने होकि भन्ने डर लाग्छ । कहिले काहिँ झगडा पर्दा, पछि फेरी बदला लिन्छ कि भनेर चुपचाप घर फर्किएको पनि अनुभव छ म संग ।
हामी सुरक्षीत छैनौँ । हामी अर्थात् छोरी । छोरी अर्थात् असुरक्षा । घरबाटै असुरक्षित, छिमेकीबाटै असुरक्षित, कार्यालयमा, पार्कमा, यात्रामा जताततै असुरक्षित । छोरीलाई जोगीएर हिँड्नुपर्छ भनेर सिकाउने हाम्रो समाजले छोरालाई अरुलाई गलत नजरले हेर्नु हुन्न भनेर कहिल्यै सिकाएन । त्यसैले प्रिय आमा बाबा आफ्नै घरबाट यो सिकाइकोे सुरवात गरौँ । विभिन्न हिँसाका बारेमा बालबालिकालाई उनीहरुले बुझ्ने भाषामा सिकाउँ ।
हे ! पुरुषमित्रहरु, यौन इच्छा शान्त पार्ने विभिन्न उपाय छन्, कृपया ति उपाय अपनाउनुहोस् । खबरदार बलात्कार नगर्नुहोस् ।
हुर्केकी छोरीलाई उसमाथी आइलागेको कुनै पनि अफ्ठेरो स्थिती परिवारमा सहजै भन्न सक्ने वातावरण बनाइदिउँ । हे ! पुरुषमित्रहरु, यौन इच्छा शान्त पार्ने विभिन्न उपाय छन्, कृपया ति उपाय अपनाउनुहोस् । खबरदार बलात्कार नगर्नुहोस् ।
नारीवादी अभियान्ता कमला भासीनले भनेकी छिन्, “पुरुषहरुले हामीलाई केही गरिदिनु पर्दैन । आफैलाई सहयोग गरुन् । आफ्नै बारेमा ख्याल राखुन् । महिलाहरु स्वतः ठीकठाक हुनेछन् । घरेलु हिंसा बन्द गर्नुस् । बलात्कार नगर्नुहोस् । बाटोमा नजिक्याउनुहोस् । हाम्रो सहर सुरक्षित हुनेछ । हामी सुरक्षित रहनेछौँ । अनि कुनै पनि छोरालाई बलात्कारी बन्नबाट रोक्नेछौँ ।”





