संविधान संशोधनको प्रस्ताव ल्याउन माग



११ असोज २०७५, काठमाडौँ

राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा समापन मन्तव्य दिँदै उनले ‘टीकापुर घटना अधिकार प्राप्तिको घटना भए पनि’ निर्वाचित सांसद रेशम चौधरीलाई अहिलेसम्म प्रमाणपत्र नइिदएकामा रोष प्रकट गरे । उनले चाडपर्वको मुखमा महँगी बढाएको तथा सामग्रीको अभाव र कालाबजारी नियन्त्रण गर्न नसकेको आरोप पनि लगाए ।

निजगढ विमानस्थल निर्माण गरिँदा वातावरणमा प्रभाव नपर्ने गरी काम अघि बढाउन उनले सरकारको ध्यानाकर्षण गराए । सबै भाषाभाषीलाई सम्मान गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न आफूले संसद्मा हिन्दीमा बोल्ने गरेको नेता महतोको भनाइ थियो ।

सङ्घीय समाजवादी फोरम नेपालका रामसहाय यादवले मधेश, आदिवासी र जनजातिको आन्दोलनले सङ्घीय शासन प्रणाली स्थापना भए पनि परिवर्तन संस्थागत हुन नसकेको बताउँदै मौलिक हकसम्बन्धी ऐन कार्यान्वयनका लागि सरकार इमान्दार भएर लाग्नुपर्नेमा जोड दिए ।

आजै अधिवेशन अन्त्य भए पनि यसपछि बस्ने अधिवेशनमा संविधान संशोधनको प्रस्ताव ल्याउन उनले माग गरे । सङ्घीयताको श्रेय मधेश आन्दोलनलाई जाने बताउँदै उनले यसको संरक्षणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । भौगोलिक अखण्डतालाई खलल पुर्याउन गरिने कुनै पनि गतिविधिमा आफ्नो दलको समर्थन नरहने उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्