समाज सेवामा अक्कल



१० असोज २०७५,काठमाण्डौ

कक्षा चारमा पढ्दा नै उनले गाउँघरमा जाँडरक्सी खान  हुँदैन भन्ने आवाज उठाए । कक्षा सातमा पढ्दा नै सबै मानिसले शिक्षा लिनुपर्दछ भन्ने सन्देश दिँदै  सरकारको शैक्षिक कार्यक्रम अन्तर्गत प्रौढ कक्षा पढाउने अवसर पाए ।

एक वर्षसम्म प्रौढहरुलाई शिक्षा दिँदा कक्षामा आएकाहरुले कम्तिमा आफ्नो नाम लेख्न सक्ने भए र सामान्य हिसाब गर्न जान्ने भए । त्यहि कुराले अक्कल बहादुर तामाङलाई शिक्षा क्षेत्रमा केहि गर्नुपर्दछ भन्ने भावनाको विकास गरायो र सामाजिक अभियान्ता बन्न मद्धत गर्यो ।मध्यम वर्गीय किसान परिवारमा २०३२ सालमा काभ्रेमा जन्मिएका अक्कल पञ्चकन्या माद्यामिक विद्यालयबाट टेस्ट परिक्षा दिएपछि काठमाण्डौ झरे ।

केहि समय एसएलसी परीक्षाको तयारी गरेर घर फर्किएका अक्कल परिक्षा दिएर पुन: काठमाण्डौ फर्किए  । उनी २०५१ सालमा एसएलसी  उत्तीर्ण गर्दा गाउँकै पहिलो एसएलसी दिएको व्यक्ति बने । भन्छन्, त्यति बेलासम्म हाम्रो समुदायमा पढ्नुपर्छ भन्ने चेतनाको विकास भइसकेको थिएन् ।’

सानै उमेरमा शिक्षा क्षेत्रमा केहि गर्ने सोच बोकेका अक्कललाई काठमाण्डौ बसेर अध्ययन गर्न त्यति सहज थिएन् । त्यसैले उनले दिउँसो साइकल, टेम्पामा सामान लिएर पसलमा पुग्थे अर्थात सेल्स वोइको भूमिका निभाउथे  भने बेलुका प्लस टु अध्ययन लागि कलेज जान्थे । चार वर्ष सेल्स वोइको रुपमा काम गरेका अक्कलले सरस्वती क्याम्पसबाट स्नातक गरेका छन् । तत्पश्चात उनले आफैँ वितरक बनेर सञ्चो तथा वाइवाइ चाउचाउको व्यापार पनि गरे ।

सन् २००३ मा तीन वर्षको ट्रेनिङका लागि दक्षिण कोरिया गएका अक्कल ७ वर्षसम्म  उतै बसे । दक्षिण कोरियामा माइग्रेन कम्युनिटी सेन्टरहरु हुन्थे । उनी कामबाट फुर्सद हुँदा माइग्रेन कम्युनिटी सेन्टरहरुमा पुग्थे । त्यहाँ  कोरियालीहरुले नेपालीहरुलाई पाहुना जस्तै गरी सत्कार गर्थे । अक्कलले सहयोगी भावना भएका कोरीयालीहरुले आत्मसन्तुष्टिका लागि सहयोग गरेको थाहा पाए ।

अक्कलले सम्झिए,‘उनीहरुले आफ्नो देश गरिब हुँदा अरु देशले सहयोग गरेका कारण हामीले पनि गरिब देशलार्ई सहयोग गरेको बताए । अरुलाई सेवा गर्ने उनीहरुको भावनाले मलाई झनै प्रेरित गर्यो र २००६ मा ‘आपतकालिन नेपाली सेवा समिति’ गठन गरेँ ।’ उनी अध्यक्ष रहेको सो संस्थाले काम नपाएर अलपत्र परेकाहरुलाई सहयोग गर्ने , लामो समयदेखि तलब नपाएर अलपत्र परेकाहरुलाई तलब दिलाइदिने तथा दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल पुर्याउने लगायतका थुप्रै काम गर्यो ।

२०१० मा नेपाल फर्किएका अक्कलले २०११ मा नेपाल कोरिया सांस्कृतिक आदानप्रदान संघ (नेकोस) को स्थापना गरे । नेकोसबाट सुरुवातमा शंखपार्क सरसफाइ गर्यौँ । तत्पश्चात ग्रीन एण्ड क्लिन सिटीको अभियान सुरु गर्यौँ र त्यो अभियान हाल पनि जारी छ, उनले भने । भन्छन्, ‘उक्त अभियान अन्तर्गत दक्षिण कोरियाबाट स्वयंसेवक बोलाएर नयाँ पुलदेख घोरेपानी पुन हिलसम्मको ट्रेकिङ रुटमा तीन दिने सरसफाइ कार्यक्रम सञ्चालन गर्यौँ । साथै काठमाण्डौका विभिन्न स्थानमा सरसफाइ गरिरहेका छौँ ।’

नेकोसले वर्षको चारपटक कोरियाबाट डाक्टर, औषधी, स्वयंसेवक ल्याएर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । त्यस्तै शिक्षा क्षेत्रमा सामुदायिक तथा कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरु पढाउने निजी विद्यालयमा पाँच वटा पुस्तकालय स्थापना गरेको छ । साथै आर्थिक अवस्था कमजोर भएका विभिन्न जिल्लाका २५ जना विद्यार्थीलाई छात्रवृत्ती समेत प्रदान गर्दै आइरहेको छ ।

छात्रवृत्ती पाएका मध्ये दुई जनाले प्लस टु उत्तीर्ण गरेको जानकारी दिँदै संस्था मार्फत छात्रावृत्ती पाएकाहरुलाई प्रत्येक तीन महिनामा महिनाको दुई हजारका दरले विद्यार्थीको बैंक खातमा पैसा पठाउने गरेको जानकारी दिए । त्यस्तै नेकोसले बालिबालिका ,युवा, महिलाका छट्टाछुट्टै सुमुह गठन गरी नेतृत्व विकास तालिम पनि सञ्चालन गर्दै आइरहेको छ ।

उक्त २०७२ वैशाख १२ गते भूकम्प गएको बेला भूकम्प अतिप्रभावित जिल्लामा तत्कालिन राहत वितरण गरेको थियो । तत्कालका लागि खाद्यान्न, लत्ताकपडा वितरण गर्नुका साथै स्वास्थ्य शिविर र मनोवैज्ञानिक परामर्श समेत दिएको उनले जानकारी दिए । त्यस्तै नेकोसले भूकम्प पिडीतलाई काभ्रेपलाञ्चोकको अनाइकोटमा ३० वटा तथा सिन्धुपाल्चोकको चोकटीमा २० वटा आवास निमार्ण गरेको छ ।

सामाजिक कार्यमा सक्रियताका साथ लागेका अक्कलले मानिसहरुमा स्वयम सेवा गर्ने भावना हराउँदै गएको महशुस गरी सन् २०१७ मा स्वयंसेवक सम्बन्धि विश्वभर फैलिएको संस्था IAVE सँग अनुबन्धित भएर कल्याणकारी स्वयंसेवक संघ नेपालको स्थापना गरका छन् ।भन्छन्, ‘यो संस्थाको नारा नै परिवर्तनका लागि स्वयंसेवक रहेको छ । हामीले सातै प्रदेशमा प्रदेश स्तरीय स्वयंसेवक कमिटी गठन गरिसकेका छौँ । केहि जिल्ला र नगरपालिकाहरुमा पनि स्वयंसेवक कमिटी गठन गर्ने तयारी गरिरहेका र्छौ ।’

‘धेरै गैरसरकारी संस्थाहरुले विभिन्न ठाउँमा गएर अध्ययन गर्दछन् तर त्यहाँ काम गर्न आफू नगएर अन्य संस्थाहरुलाई पठाउछन र आफू कमिशन लिएर बस्छन्, त्यसले गर्दा काम थोरै मात्रामा हुने गरेको छ र त्यस्ता संस्थाप्रतिको हेराइ पनि फेरिएको छ । जबसम्म जसले अध्ययन गर्यो उसले नै काम गर्दैन् त्यहाँ राम्रो प्रतिफलको आशा गर्न सकिँदैन ।

त्यसैले हामीले आफ्नै संस्थाबाट सिधै काम गर्न प्रदेश, जिल्ला र नगरमा कमिटी गठन गरेका हौँ, उनले भने । कल्याणकारी स्वयंसेवक संघले विभिन्न स्थानमा पार्क निर्माण गर्ने तयारी गरिरहेको छ । त्यस्तै सकारात्मक सोचको विकास गर्नका लागि माइन्ड एजुकेशनको कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ भने विभिन्न देशका स्वयसेवकको नेतृत्व भेला पनि गर्दै आएको छ ।

अक्कलले समाज सेवा वापत विभिन्न पुरस्कारबाट सम्मानित पनि भएका छन् । सामाजिक अभियान्ता अक्कल जर्मनीमा सन् २०१५ मा ‘पाथ टु सक्सेस’, २०१६ मा अमेरिकामा ‘ टेरियन अवाडर्’ तथा २०१६ मा नै दक्षिण कोरियामा ‘भोलेन्टियर अफ दि अवार्ड २०१६’ बाट पुरष्कृत भएका छन् । साथै उनी संविधान दिवसको अवसरमा वितरण गरिने ‘समाजसेवा रत्न पदक’को नोमिनेशनमा समेत परेका छन् ।

सानोमा खेलप्रति खासै रुची नराख्ने अक्कल विद्यालय तेक्वान्दो महासंघका कोषाध्यक्ष्य तथा नेपाल मार्सल आर्ट हाप्किदो संघका सल्लाहकार पनि हुन् । हाल उनी मार्सल आर्ट खेलको विकासमा लागिपरेका छन् ।

सामाजिक काम गर्ने व्यक्तिले समाज सेवालाई नै आफ्नो पेशा बनाउन नहुने उनको भनाइ छ । सामाजिक अभियान्ताले आफ्नो छुट्टै व्यवसाय गर्नुपर्दछ भन्ने सोच राख्ने अक्कल ट्रेकिङ सम्बन्धि काम गर्ने संस्था ‘नेकोस ट्रेक्स एण्ड एक्सपिटेशन कम्पनी’ तथा ‘पब्लिक मार्ट प्रालि’ सञ्चालन गर्दै आइरहेका छन् ।

व्यवसाय तथा सामाजिक कामलाई निरन्तरता दिने योजनामा रहेका अक्कल भन्छन्, ‘ समाजसेवामा केहि दिनका लागि लाग्ने हो, लिनका लागि होइन् ।

प्रतिक्रिया दिनुहोस्