एनआरएन विज्ञ सम्मेलनमा ४ सय भन्दा बढी सहभागी हुने : संयोजक डा. शर्मा



०९ असोज २०७५, काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएन) ले काठमाडौंमा प्रथम विश्व विज्ञ सम्मेलन गर्ने भएको छ । असोज २६–२८ (अक्टोवर १२–१४) मा हुने प्रथम विज्ञ सम्मेलनमा ४ सय भन्दा बढी सहभागि हुने कार्यक्रमका संयोजक डा. हेमराज शर्माले बताए ।

विदेशमा कमाएको पूँजी मात्रै नभई विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपयोग गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना हुन लागेको शर्माको भनाई छ । ‘विदेशमा सिकेको ज्ञानलाई स्वदेशमा पुर्याउने एनआरएनको उद्देश्य नै हो’, शर्माले भने, ‘हामी यसलाई कार्यान्वयनको चरणमा पुर्याउन चाहन्छौं ।’ विदेशमा सिकेको ज्ञान, सीप, र प्रविधिको नेपाल सुहाउँदो प्रयोग कसरी गर्न सकिन्छ भन्नेमा सम्मेलन केन्द्रित हुनेछ ।

वैदेशिक रोजगारीमा जानेहरु र अध्ययन, अध्यापनको क्रममा विदेशमा रहेका नेपालीहरुले सिकेको सीपलाई सरकार र एनआरएनले प्रयोगको उपयुक्त वातावरण बनाउनुपर्छ भन्ने सोचका साथ सम्मेलन आयोजना भएको–सम्मेलनका अर्का संयोजक तथा एनआरएनका उपाध्यक्ष कुमार पन्तको भनाई छ ।

सम्मेलनको पहिलो दिन साँझ प्रधानमन्त्री केपी ओलीबाट उद्घाटन र दोश्रो दिन चारवटा प्लेनरी सत्र रहेको छ । पहिलो सत्रमा नेपालको विज्ञान तथा प्रविधीको नीति, प्राविधिक जनशक्तिको अवस्था लगायत विषयमा छलफल हुनेछ । दोश्रो सत्रमा ज्ञानमा आधारित आर्थिक विकास र देशले लिने आर्थिक विकासको बाटोका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ । तेश्रो सत्रमा नेपाललाई उपयुक्त हुने नयाँ प्रविधीको सम्भावना र यस क्षेत्रमा लगानी बिषयमा छलफल हुनेछ । नेपालको विकासको नीति निर्माणमा डायस्पोराको कस्तो भुमिका हुन्छ भन्ने बिषयमा समेत छलफल हुनेछ ।

दोश्रो दिन कृषि, स्वास्थ्य, शिक्षा, भौतिक विकास तथा ईन्जिनियरिङ, वैकल्पिक उर्जा, विज्ञान तथा प्रविधी, जोखिम न्यूनिकरण, वातावरणीय प्रदुषणदेखि लिएर फाईनान्सियल रेफर्म, सामाजिक सुरक्षा लगायतमा छलफल गर्ने कार्यक्रम रहेको छ । तेश्रो दिनको कार्यक्रममा आमन्त्रितको मात्र सहभागीता हुनेछ, त्यहाँ सम्मेलनको समिक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गरेर सम्मलन सकिने उनले बताए ।

सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरुबीच पनि छलफल र परामर्शको कार्यक्रम रहेको छ । सम्मेलनका सबै बिषयहरु आम जन जिविकासँग जोडिएको उनले दावी गरे । यसका साथै सरकारका विकासमा प्राथमिकता परेका बिषय पनि सम्मेलनका छलफलका विषय हुन् ।

कृषि उत्पादन र उर्जामा स्व–निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारवणीय प्रदुषण न्युनिकरण, व्यवस्थित शहरको विकास, पुर्वाधार विकास, जलविद्युत, व्यवसायिक शिक्षा, स्वास्थ्य शिक्षा, संघीयतामा शिक्षाको मोडल आदि विषयमा छलफल हुने डा. शर्माले बताए ।

सम्मेलनमा नेपाल भित्र र बाहिर रहेका विज्ञहरु, नेपालको बारेमा चासो राख्ने विदेशी विज्ञहरु, नेपाल सरकारका नीति निर्माता, स्वतनन्त्र वुद्धिजीवी, नेपालको निजी क्षेत्र, नेपालस्थित कुटनीतिज्ञ लगायत सबै क्षेत्रका विज्ञको सम्मेलनमा सहभागिता रहने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्