निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह निर्वाचित



नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित हुनु भएको छ । शनिवार मध्यरातमा सम्पन्न मतगणना अनुसार ४ सय ६६ मत हासिल गर्दै सिंह आगामी तीन वर्षका लागि महासंघको अध्यक्षमा निर्वाचत हुनु भएको हो । सिंहका निकटतम प्रतिद्धन्दी यक्षध्वज कार्कीले ३ सय ५३ मत प्राप्त गर्नुभयो । वरिष्ठ उपाध्यक्षमा ४ सय ६५ मत सहित निकोलस पाण्डे विजयी हुँदा उहाँका निकटतम प्रतिद्धन्दी लक्ष्मणकुमार रानाको पक्षमा ४ सय २८ मत खस्यो । महासचिवमा रोशन दाहाल विजयी हुनु भएको छ । दाहालले ३ सय ४९ मत हासिल गर्नुभयो भने उहाँका निकटतम प्रतिद्धन्दी हुमनाथ कोइरालाले ३ सय १६ मत हासिल गर्नुभयो । उपमहासचिवद्धयमा टंकप्रसाद चौलागाई (नीतिगत) र नरहरी थपलिया (आन्तरिक) विजय हुनु भएको छ ।

प्रदेश उपाध्यक्षहरुमा एक नम्बरबाट धिरेन्द्रकुमार दाहाल, दुईबाट सुरेन्द्रप्रसाद सिंह, तीनबाट पेम्बा लामा शेर्पा, चारबाट राजेन्द्र पहारी, पाँचबाट टोपबहादुर रायमाझी, छ बाट रत्नबहादुर खड्का तथा सातबाट टेकबहादुर सेठ्ठी (निर्विरोध) निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा ४ सय ७० मत सहित हिरणकुमार श्रेष्ठ विजयी हुँदा उहाँका प्रतिद्धन्दी गौरीप्रसाद उप्रेतीले ३ सय १७ मत प्राप्त गर्नुभयो । सहकोषाध्यक्षमा सरस्वती कार्की विजयी हुनुभयो । खुल्ला पाँच जना केन्द्रीय सदस्यमा प्रमोद लामिछाने, सुरेन्द्रराज केसी, अशोककुमार रेग्मी, इन्जिनियर भीमबहादुर पाल र डाक्टर सूर्यबहादुर खड्काले जीत हासिल गर्नुभयो ।

खुल्ला सदस्यतर्फ प्रदेश एकबाट सुमन्त कोइराला तथा प्रदेश सदस्यमा यज्ञप्रसाद खतिवडा विजयी हुनु भएको छ । प्रदेश २ मा खुल्ला तर्फ संजयकुमार गुप्ता निर्विरोध हुँदा प्रदेश सदस्यमा शम्भु ठाकुर विजयी हुनु भएको छ । प्रदेश ३ मा खुल्लातर्फ होमकुमार आचार्य तथा प्रदेश सदस्यमा पञ्चराम तामाङले जीत हासिल गर्नुभयो । प्रदेश ४ मा खुल्ला सदस्यमा उत्तम भट्टले जीत हासिल गर्दा प्रदेश सदस्यमा खिमप्रसाद मल्ल निर्विरोध हुनु भएको छ । त्यस्तै प्रदेश ५ मा खुल्लामा बालाजु श्रेष्ठ तथा प्रदेश सदस्यमा मेघजंग शाह निर्विरोध हुनुभएको छ । प्रदेश ६ मा चन्द्रप्रकाश थकालीले खुल्ला सदस्यमा जीत हासिल गर्दा प्रदेश सदस्यमा सुरतजंग मल्ल निर्विरोध हुनुभयो । प्रदेश ७ मा वीरबहादुर साउद खुल्लामा विजयी हुँदा प्रदेश सदस्यमा हरिप्रसाद भट्ट निर्विरोध हुनुभएको छ । एसोसिएटतर्फ खुल्ला चार सदस्यमा रामजी पन्त, शिवहरि घिमिरे, उज्वल गौतम र विकास मल्ल विजयी हुनु भएको छ । खुल्ला चार महिला सदस्यमा मोहनकुमारी कालीकोटे, मनिकला रानामगर, बबिता कटुवाल र ताराकुमारी शाह सबै निर्विरोध हुनु भएको छ ।

तराई मधेशबाट सदस्यमा सन्तोष शाह, जनजातिबाट दावा पेम्बा तामाङ, पिछडिएको क्षेत्रबाट मंगलबहादुर शाही र वस्तुगत संघतर्फबाट तेजबहादुर राई निर्विरोध हुनु भएको छ । कुल ५५ सदस्यीय कार्य समिति मध्ये ४६ पदमा निर्वाचन सम्पन्न भएको हो भने अब बाँकी सदस्यहरु नयाँ कार्य समितिले मनोनयन गर्ने महासंघले जनाएको छ । निर्वाचनमा ९ सय ३५ मध्ये ९ सय ८ जना प्रतिनिधिहरुले आफ्नो मताधिकार प्रयोग गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको महासंघको २० औं साधारण सभा तथा निर्वाचन कार्यक्रममा प्रतिनिधि तथा पर्यवेक्षक गरी देशभरका २ हजार भन्दा बढी व्यवसायीको सहभागिता रहेको थियो ।

यसैबीच महासंघको नयाँ कार्य समितिको पदभार तथा सपथ ग्रहण कार्यक्रम आइतबार राजधानीमा सम्पन्न भएको छ । महासंघका कानूनी सल्लाहकार बाबुराम दाहालले नयाँ कार्य समितिका अध्यक्ष रवि सिंहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएपछि सिंहले अन्य पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । कार्यक्रममा महासंघका मानार्थ सदस्य जीप छिरिङ लामा शेर्पा, पूर्व मन्त्री विक्रम पाण्डे, पूर्व राज्य मन्त्री इन्द्र बाँनिया, महासंघका सल्लाहकार रमेश शर्मा लगायतले नयाँ कार्य समितिका पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गर्दै सफल कार्यकालका लागि शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्