
०७ असोज २०७५, काठमाडौं
धुर्मुस सुन्तली फाउन्डेशनले रौटहटको चन्द्रपुर नगरपालिकामा निर्माण गरेको बस्तीलाई आजभोली धेरैले पर्यटकीय स्थानका रुपमा लिन थालेका छन् । निजी क्षेत्रको सहयोगमा बनेको बस्ती उदाहरणीय बन्दै गर्दा प्रदेश १ को पहडी जिल्ला खोटाङमा समेत एकीकृत नमुना बस्ती निर्माण हुने भएको छ । दक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा रामनाथ एकीकृत नमूना बस्ती शिलान्यास गरीए सँगै प्रदेश १ को पहिलो नमुना वस्ती बन्ने पक्का भएको हो । स्थानीय शारदाप्रसाद ढकालले निःशुल्क रुपमा नगरपालिकालाई प्रदान गरेको साँढे सात रोपनी जग्गामा २४ घर निर्माण सहितको नमुना बस्ती बन्नेछ ।
२० घर भूकम्पपीडित र चार घर अन्य गरी २४ घर परिवारका लागि निर्माण गर्न लागिएको बस्ती नगरप्रमुख दिपनारायण रिजालले शिलान्यास गरेका छन् । नेपाल सरकारको अवधारणा अनुसार नगरपालिकाको पहलमा निर्माण गर्न लागिएको बस्ती देशकै नमूना बनाइने छ । घडेरी सम्याउन, नक्सा निर्माण तथा पास गर्न र प्राविधिक सहयोग नगरपालिकाले गर्ने नगरप्रमुख रिजालको भनाई छ ।
रिजालका अनुसार भूकम्पपीडितले पाउने प्रति घर तीन लाख गरी जम्मा ६० लाख र बाँकी रकम पुर्ननिर्माण प्राधिकरण तथा नगरपालिकाले लगानी गर्ने बताईएको छ । नगरपालिकाले समेत गर्ने जनाइएको छ ।
सामुदायिक भवन सहित उक्त बस्तीमा बालबालिकाका लागि छुट्टै पार्क निमार्ण गरी उक्त बस्तीलाई सुबिधा सम्पन्न बनाईने निर्माण उपभोक्ता समितिका संयोजक प्रमेश ढकालले बताए । ‘एक घर, एक उत्पादन’ गर्ने लक्ष्य सहित निर्माण गर्न लागिएको बस्तीका लागि प्राधिकरणसँग नगरपालिकाले सम्झौता गर्नुका साथै निर्माण उपभोक्ता समितिसँग नगरपालिकाले सम्झौता गरेपछि अगाडी बढेको हो ।
होमस्टेको अवधारण अनुसार निर्माण गर्न लागिएको बस्तीका लागि १६ घरको नक्सा समेत पास भइसकेको नगरपालिकाले जनाएको छ ।
बहुउद्देश्यीय बस्ती निर्माणको काम दशै तिहारपछि लगत्तै शुरु हुने निर्माण उपभोक्ता समितिले जनाएको छ । सगरमाथा राजमार्गले छोएको विजय खर्कमा पर्यटन विकासको राम्रो सम्भावना रहेको छ ।





