
०५ असोज २०७५, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका–६ स्थित सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको भद्रकाली जागरण समाजले संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याईरहेका समाजसेवी प्रदिप डंगोलको नेतृत्वमा स्थापित भद्रकाली जागरण समाज अहिले उनकै सल्लाहमा सामाजिक गतिविधिमा निकै सक्रिय रहेको देखिन्छ । मानव अधिकार र बाल अधिकारको क्षेत्रमा २ दशक भन्दा बढी समय विताएका डंगोलले भद्रकाली क्षेत्रका महिलाको सीप विकासमा निकै जोड दिएका छन् ।

रक्तदान कार्यक्रममा ६३ जनाले फारम भरे पनि विविध कारणले ३० जनाले मात्र रक्तदान गरेका थिए । रक्तदाताहरुमा ६० प्रतिशत महिला थिए भने ५४ वर्षकी सफला केसीले समेत रक्तदान गरेको जानकारी संस्थाका सल्लाहकार प्रदिप डंगोलले परिवर्तन खबरलाई बताए । कार्यक्रममा नगरप्रमुख उद्धव खरेल र प्रदेश सांसद दीपक निरौलाको समेत सहभागिता रहेको थियो ।






