
०४ असोज २०७५, नयाँ दिल्ली
भारतको बिहारमा एक महिलाले आफ्ना २ सन्तानलाई खोलामा बगाइदिएकी छिन् । बिहारको छपरा जिल्ला अन्तर्गत मांझी थाना झखरा गाउँकी मनोरमा देबीले जड्याहा श्रीमान र ससूराको अत्याचार सहन नसकेपछि तीन सन्तान सहित आतमहत्या गर्ने प्रयास गरेकी हुन् ।
भारतीय सञ्चार माध्यम आजतकका अनुसार बुधबार मनोरमा देवीले दुई बच्चालाई नदिमा फ्याकेकी हुन् । उनले उत्तर प्रदेश र बिहार राज्य जोड्ने सरयू नदिमा डेढ वर्षको छोरा प्रिंस, ५ वर्षकी छोरी निशालाई नदिमा बगाइदिएको प्रहरीले जनाएको छ । आफ्ना २ बच्चा नदिमा फ्याकेपछि अर्का ७ वर्षीय छोरीको साथमा नदिमा हाम फाली आत्महत्या गर्न लाग्दा स्थानीयले देखेर रोकेको समाचारमा जनाइएको छ ।
उनले नदिमा बगाएका दुबै सन्तानको अवस्था अज्ञात रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खोलामा सन्तान बगाउने ती महिलालाई स्थानीयले कुटपिट गरेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी बयानमा उनले मदिरा सेवन गरी श्रीमान् र ससूराले अत्याचार गरेका कारण सन्तानसहित आत्महत्या गर्न लागेको बताएकी छिन् । उनका अनुसार पतिले मदिरा सेवन गरी दिनहुँ पिट्ने गरेका थिए ।





