
०३ असोज २०७५, काठमाडौं
संविधान दिवसको अवसरमा बूढानीलकण्ठ नगरपालिका वडा नं ११ द्वारा आयोजित जगडोल प्रवेशद्वार उद्घाटन तथा पर्यटकीय ग्राम घोषणा भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, विशेष आतिथ्यता परराष्ट्रविद् डा राजन भट्टराई, प्रदेश सभा सदस्य दिपक निरौला, बूनपा उपप्रमुख रमादेवी राई, प्रशासकिय अधिकृत प्रदिप पौडेल, बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का राजु अधिकारी, १२ का शम्भु भट्टराई लगायत अन्य समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विकासमा राजनीति हुन नहुने र विकास निर्माणका काममा सबैले काँधमा काँध नमिलाए विकास असम्भव हुने प्रष्ट पारेका थिए ।

जगडोललाई एउटा आकर्षक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने र अन्य थप संरचना निर्माणका लागि आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता परराष्ट्रविद् डा राजन भट्टराईले गरेका थिए ।

बूनपा ११ का वडाध्यक्ष राजु अधिकारीले आफ्नो वडा भित्र रहेका स्थानहरुलाई पर्यटकीय स्थान बनाउन विशेष जोड दिएका थिए । स्थानीय स्तरका सबैखाले कामलाई अगाडी बढाउनेमा अधिकारीले विशेष जोड दिएका छन् ।






