
०३ असोज २०७५, काठमाण्डौ
संविधान दिवसको अवसरमा आज विहान बूढानीलकण्ठ नगरपालिकाको सबै वडाहरुमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

नगरप्रमुख, उपप्रमुख सहित सबै वडाध्यक्षको अगुवाईमा आ-आफ्नो टोलमा गरिएको सरसफाई कार्यक्रममा ब्यापक जनसहभागिता रहेको देखिन्थ्यो। नगरपालिकाको आव्हानलाई स्थानीय संघ संस्था र विद्यालयले उच्च महत्व दिएका थिए। विहान नौ बजे सम्म टोल-टोलमा स्थानीय वासिन्दा तथा युवा विद्यार्थीको व्यापक सहभागिता रहेको थियो।

बू.न.पा. -१० मा पर्ने बाल उद्धार मा.वि. यो क्षेत्रकै धेरै विद्यार्थी पढाउने विद्यालय हो। सामुदायिक विद्यालय भएपनि पछिल्लो समय सामाजिक र शैक्षिक गतिविधिमा निकै सुधार गरेको विद्यालयले कक्षा ६ देखि १२ सम्मका ६०० बढी विद्यार्थीहरु सरसफाईमा परिचालित गरेको विद्यालयका प्राधानाध्यापक विनोद पण्डितले परिवर्तन खबरलाई बताए।

बू.न.पा. -१० का वडा अध्यक्ष नवराज भट्टराईका अनुसार विद्यालय, स्थानीय क्लब, संघ संस्था गरी ५००० भन्दा बढी स्थानीयले सरसफाईमा आफ्नो वडाबाट सहभागी भएको जनाए।

बू.न.पा. -११ का वडा राजु अधिकारी अनुसार विद्यालय, स्थानीय क्लब, संघ संस्था गरी १५०० बढीले वडा भित्र सरसफाईमा सहभागी रहेको बताए।

बू.न.पा. -१२ का वडा अध्यक्ष शम्भु भट्टराईका अनुसार विद्यालय, स्थानीय क्लब, संघ संस्था गरी १५०० बढीले स्थानीयले आफ्नो वडाबाट सरसफाईमा सहभागी रहेको बताए।

बू.न.पा. का ३ वडाको तथ्यांक हेर्दा नगरभित्र ३०,००० भन्दा बढी बालबालिका, युवा र प्रौढहरुले नगर सरसफाईमा सहभागी भएको अनुमान गर्न सकिन्छ।

सरसफाई कार्यक्रमले दिगो सफाईमा योगदान दिन नसकेपनि जनचेतना अभिवृद्धिको लागि भने महत्वपूर्ण योगदान गरेको देखिन्छ।







