सरकारको परिवार नियोजन लक्ष्य : पुरा हुनेमा शंका



०३ असोज २०७५, इटहरी

गाँस, बास र कपासलाई नेपालमा आधारभुत आवश्यकताको रुपमा धेरै अगाडीबाट लिन थालिएको हो । हाल आएर गाँस, बास, कपाससँगै अर्को एउटा आधारभुत आवश्यकता थपिएको छ, त्यो हो यौन ! यौनलाई नेपाली समाजमा संकुचित रुपमा लिने प्रचलन कायमै रहेको छ ।

अधिकांश क्षेत्र ग्रामिण भचु भागले ओगटेको नेपालमा आजभोली पनि परिवारलाई सुखी बनाउन योजनाको आवश्यकता पर्दछ भन्ने बुझाउन सकिएको देखिदैन । यौनलाई बिवाह पछिको जीवनको एउटा महत्वपुर्ण पाटोका रुपमा लिने गरिन्छ । तर उक्त यौनलाई पारिवारिक योजना अनुसार चलाउन नसक्दा नेपालमा धेरै ठुलो क्षति भईरहेको छ । नेपालमा मातृ मृत्यु दरले १० प्रतिशत हिस्सा ओगटेको छ । जसको एक कारण हो कम उमेरमा किशोर किशोरीको बिवाह हुने र परिवार नियोजनका बिषयमा जानकारी नै नलिई यौन सम्वन्ध स्थापित हुदा सानैमा कम उमेरमा गर्भवती हुनु ।

नेपालमा देखिएको यस्तै समस्या समाधान गर्न र एउटा सुखी परिवार निर्माण योजनावद्ध रुपमा गर्न नेपाल परिवार नियोजन संघको स्थापना भएको ६० बर्ष भयो । नेपालले परिवार नियोजन दिवस मनाउन थालेकै ५ बर्ष पुरा हुँदा समेत मुख्य सन्तान उत्पादन र यौनमा सक्रिय युवा युवतीले परिवार नियोजनका साधनको कम मात्रामा प्रयोग गरेको पाईन्छ ।

नेपाल सरकारले वार्षिक ४० करोड भन्दा धेरै रकम खर्च गर्दा समेत बिभिन्न जिल्ला, विकटमा रहेका स्वास्थ्य संस्थामा अहिले पनि सहजरुपमा परिवार नियोजनका साधन पाइँदैनन् । पर्याप्त साधन समयमै खरिद गर्न नसक्दा परिवार नियोजनका साधनको अभाव सधँै हँुदै आएको छ भने कार्यक्रमको प्रभावकारितामा समेत असर पर्ने गरेको छ ।

पन्ध्रदेखि ४९ वर्षसम्मका व्यक्तिले जुनसुकै परिवार नियोजनका साधन अपनाएको दर ५० प्रतिशत रहेको र आधुनिक मात्रै प्रयोग गर्नेको ४७ प्रतिशत रहेको छ । सरकारले ६७ प्रतिशत आधुनिक परिवार नियोजनका साधनको प्रयोग गर्नेको संख्या पर्याउने भन्दै दिगो बिकासको लक्ष्य अवलम्वन गरेपनि उक्त लक्ष्य पुरा हुनेमा चुनौती देखिन्छ । कम उमेरमा विवाह गर्ने किशोरकिशोरीले परिवार नियोजनका साधन कम प्रयोग गर्ने गरेको परिवार स्वास्थ्य महाशाखाको भनाइ छ ।

खास गरी परिवार नियोजनका साधनको प्रयोगले यौन सुखमा नकारात्मक भ्रम चिर्न नसक्दा समस्या जस्ताको त्यस्तै छ । देश संघीयतामा गएसँगै स्थानीय तहले गोप्य र सुरक्षीत यौन तथा प्रजनन सेवा दिने क्षमता नराख्दा समेत नेपाल सरकारको लक्ष्य पुरा हुनेमा शंका उत्पन्न भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अझैपनि १७ जिल्लामा परिवार नियोजनको साधन प्रयोगदर ३० प्रतिशतभन्दा कम रहेको छ ।

विभिन्न सर्वेक्षणअनुसार साधनको माग विशेषगरी किशोरी, प्रसूती, दुर्गम, मधेसी तथा मुस्लीम समुदाय भएको क्षेत्र र गरिबमा बढी रहेको देखिएको छ । करिब २५ प्रतिशतले साधनको माग गरेको पाइएको भए पनि त्यसको परिपूर्ति गर्न सरकारले सकेको छैन ।

इटहरीमा किशोर किशोरीको र्याली
पाँचौं परिवार नियोजन तथा नेपाल परिवार नियोजन संघको ६० औं वार्षिक उत्सवका अवसर पारेर सुनसरीको इटहरीमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

इटहरी उपमहानगरपालिकाको आयोजनामा दिवसका अवसरमा इटहरी क्षेत्रमा  प्रभातफेरी र चेतनामुलक कार्यक्रम गरी मनाईएको हो ।

परिवार नियोजन दिवसका अवसरमा आयोजित प्रभातफेरीमा इटहरी क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, स्वयमसेविकाहरु, सामाजिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रभातफेरी पछि आयोजित कोणसभामा परिवार नियोजनका सम्वन्धमा चेतनामुलक सन्देशहरुका विषयमा चर्चा गरियो । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षता भएको कार्यक्रममा परिवार नियोजनका विषयमा डा. बालकृष्ण झा, कुमार गिरी, डम्वर श्रेष्ठ लगायतले बोलेका थिए ।

युवा विकास केन्द्र, पिसआई नेपाल, मेरीस्टोप लगायतका संघसंस्थाहरुको कार्यक्रममा सहभागिता रहेको युवा विकास केन्द्रका सञ्जय चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्