उपराष्ट्रपति पुन चीन प्रस्थान



०३ असोज २०७५, काठमाडौँ

उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गरेका छन ।

उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मानगारत अर्पण गरेको थियो । सो अवसरमा नेपालस्थित विदेशी राजदूत, उच्च सरकारी र सुरक्षा निकायका अधिकारीले उन लाई बिदाइ गरेको थियो ।

उपराष्ट्रपति पुन एयर चाइनाको विमानबाट सिचुवान प्रान्तको राजधानी छेन्दु प्रस्थान गर्नुहुने उनको निजी सचिवालयले जनाएको छ । छेन्दुमा यही असोज ४ गतेदेखि शुरु हुने ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन गएको हो ।

उनले असोज ४ गते अन्तर्रा्ष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । उपराष्ट्रपति पुनले असोज ४ गते नै ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नेछ ।

चीनमा रहँदा उनीसँग चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने तय भएको छ । उनले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नु हुनेछ । उपराष्ट्रपति पुन चीनको भ्रमण सकेर असोज ८ गते स्वदेश फर्किनेछ ।

प्रतिक्रिया दिनुहोस्