फिलिपिन्सविरुद्ध जित निकाल्ने लक्ष्यमा नेपाल



०३ असोज २०७५,काठमाडौं

एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोटको आफ्नो पहिलो खेलमा नेपाल बुधबार समूहको बलियो प्रतिद्वन्द्वी फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दै छ । समूह ईमा रहेको नेपालले फिलिपिन्सविरुद्ध हल्चोकस्थित एपिएफ क्लबको मैदानमा प्रतिस्पर्धा गर्नेछ । खेलअघि नेपाली टोलीका प्रशिक्षक गंगा गुरुङले बलियो फिलिपिन्सलाई कडा चुनौती दिन नेपाल सक्षम रहेको जनाएकी छिन् ।

उनले भनिन्, ‘हाम्रो टिमले छनोटका लागि निकै मिहिनेत गरेको छ । घरेलु मैदानमा फिलिपिन्सविरुद्धको खेल प्रतिस्पर्धात्मक बनाउनेछौँ ।’ नेपालले यो प्रतियोगिताका लागि विगत २ महिनादेखि तयारी गरिरहेको छ । नेपाली टोलीमा भुटानमा सम्पन्न यू–१५ साफ च्याम्पियनसिप खेलेका अधिकांश खेलाडी छनोट गरिएका छन् ।

खेलाडीहरूले एकै टिमबाट नियमित खेलेकै कारण टिम मजबुत रहेको प्रशिक्षक गुरुङले जानकारी दिइन् । नेपालले दोस्रो खेल म्यानमारसँग शुक्रबार खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।

आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्