नेपाली क्रिकेट टिमको घोषणा



०३ असोज २०७५,काठमाडौं

आइसिसी टी–२० विश्वकपको प्रारम्भिक छनोटका लागि मंगलबार नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । आगामी ३ अक्टोबरबाट सुरु हुने प्रतियोगिताका लागि १४ नियमित तथा ४ वैकल्पिक गरी १८ सदस्यीय टिम छनोट गरिएको हो । अन्तिम टिमको टुंगो भने क्लोज क्याम्पका दौरान गरिनेछ ।

आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा तथा कप्तान पारस खड्का सम्मिलित छनोट समितिले रोहितकुमार पौडेललाई भने यू–१९ एसियाकपका लागि भन्दै टिममा राखेको छैन ।

औँलाको चोटका कारण एसियाकप छनोट गुमाएका सरद भेसवाकरले टिममा पुनरागमन गरेका छन् । त्यस्तै, मिडियम पेस बलर दीपेश श्रेष्ठले पनि अन्तिम १८ मा स्थान बनाए । मलेसियामा हुने छनोटमा नेपालले समूह बीमा रहेर चीन, म्यानमार, थाइल्यान्ड, भुटान, सिंगापुर र मलेसियासित प्रतिस्पर्धा गर्नेछ । अक्टोबर ३ देखि सुरु हुने खेलका लागि बिहीबारदेखि बन्द प्रशिक्षणमा राखिने जनाइएको छ ।

नेपाली टिम
कप्तान पारस खड्का, अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, दीपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ सेख, प्रदीप ऐरी, सागर पुन, सन्दीप लामिछाने, सहाब आलम, शरद भेसवाकर, सोमपाल कामी र सुनील धमला । आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्