‘ए’ डिभिजन लिगका विजेताले ५० लाख पाउने



३१ भदौ २०७५, काठमाडौं

१३ असोजबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिग फुटबलको विजेताले ५० लाख पाउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)  ले आइतबार पत्रकार सम्मेलन गर्दै लिगको विजेताले ५० लाख पाउने जानकारी दिएको हो । यस्तै लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । लिगको उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख पाउने विज्ञप्तीमा जनाईएको छ ।

त्यस्तै लिगको चौथो टोलीले १५ लाख, पाँचौ टोलीले ७ लाख र छैटौंले ५ लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन् । रेलिगेसन नहुने लिग असोज १३ गतेबाट सुरु भएर माघ १६ सम्म हुनेछ । लिगमा १४ ए डिभिजन क्लबले खेल्ने छन् । जसमा थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब,संकटा,मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्ने छन् ।

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछ । प्रत्येक दिन दुई खेल हुनेछ । खेल तालिका मंगलबार सार्वजनिक गरिने एन्फाले जनाएको छ । लिगको लागि क्लबहरुले १८ देखि ३५ खेलाडी अनुबन्धित गर्न सक्ने छन् । जसमा ४ विदेशी खेलाडी राख्न पाउने छन् । मैदानमा भने ३ खेलाडी उतार्न पाउने छन् । प्रतियोगिताको खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटो र हल्चोकस्थित सशत्र प्रहरीको एपीएफ क्लबमा हुनेछ । ए डिभिजन लिग चार बर्षपछि हुन् लागेको हो । पछिल्लो पटक बि.स. २०७१ सालमा ए डिभिजन लिग भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्