बिजुली सँगै सुधारिएको पानी घट्टाले गाँउ नै खुशी



२८ भदौ २०७५, खोटाङ/मौसम पौडेल

खोटाङको साकेला गाउँपालिका–३ खिदिममा रहेको खोबुखोलाबाट लगुजलबिद्युत निकालिएपछी सो क्षेत्रका ७० घरपरीवारले अध्याँरोबाट मुक्ति पाएका छन् । पिलो लघुजलविद्युत आयोजना नाम दिईएको उक्त आयोजना संचालन आएसँगै सोल्मा लामिडाँडामा रहेका ७० घर झिलीमिली भएका हुन् । वैकल्पिक उर्जा प्रवर्धन केन्द्र खुमलटार ललितपुरको ५५, स्थानीयवासीको ४० र वडा कार्यालयको ५ प्रतिशत लगानीमा निर्माण भएको आयोजनाबाट हाल ९ दशमलव ५ किलोवाट बिद्युत् उत्पादन भईरहेको छ ।

पिको लघुजलविद्युतबाट ल्याइएको पानीले सुधारिएको व्यवसायिक पानी घट्टा समेत सञ्चालन गरिएको छ । लघुजलविद्युतमार्फत २४ सै घण्टा बत्ती बाल्न, मिल तथा कम्प्युटर सञ्चालन गर्ने लगायत विद्युतीय कामका लागि सहज भएको निर्माण उपभोक्ता समितिका सचिव समराज राईले जानकारी दिए । विद्युत उत्पादन गृहसँगै जडान गरिएको सुधारिएको पानी घट्टामा प्रति मिनेट ८ केजी अन्न पिसानी गर्न सकिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।

सुधारिएको पानी घट्टा सञ्चालनमा आएपछि छिमेकी वडाका स्थानीयवासी समेत सेवा लिन आउने गरेको समितिका सचिव राईले जानकारी दिए । जिल्लाको दक्षिणी पूर्वी क्षेत्रमा पर्ने खिदिमास्थित सोल्मा लामिडाँडामा यसअघि ढिकीजाँतो मार्फत कुटानी पिसानी गर्दै आइएको थियो । वर्षौ अघिदेखि टुकी तथा सोलारमार्फत उज्यालो उपभोग गर्दै आएका स्थानिय २४ सैं घण्टा विद्युत उपभोग गर्न पाएपछि हर्षित भएका छन् ।

वातावरणीय हिसाबले राम्रो मानिएको सुधारिएको पानी घट्टा सञ्चालन भएपछि वर्षैदेखि कष्टका साथ कुटानीपिसानी गर्दै आएका महिलाहरु बढी लाभान्वित भएका छन् । डिजेलबाट चल्ने मिलमा पिसानी गर्दा लाग्ने खर्चभन्दा आधा कम मुल्यमा सुधारिएको पानी घट्टामा पिसानी गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्