पासपोर्ट थन्काएर गाउँमै कुखुरापालन



२७ भदौ २०७५, सुर्खेत

विदेश जाने युवाको लहर चलिरहेका बेला बराहताल गाउँपालिका–५ सुर्खेतका ३५ वर्षीय देवीराम लामिछाने आफूले बनाएको पासपोर्ट थन्काएर गाउँमै कुखुरापालन शुरु गरेका छन् ।

पैसा कमाएर सुखको जीवन बिताउने सपना बोकेर अरुझैँ जोखिम मोलेर भएपनि कतार गएका उनले यस पटक भने विदेशको बाटो रोज्नु भएन । बरु आफ्नै गाउँमा कुखुरापालन व्यवसाय सञ्चालन गरे । बराहताल गाउँपालिकामा सञ्चालीत उनको अन्नपूर्ण पोल्टी फार्ममा अहिले एक हजार कुखुरा छन् ।

“ बैंक र केही आफूसँग भएको रकमबाट भर्खरै व्यवसाय शुरु गरेको हुँ”, उनले भने ।

लामिछानेले कृषि विकास बैंकबाट रु छ लाख र छ लाख आफैँले सरसापट गरेर कुखुरापालन व्यवसाय गरेका हुँन् । आगामी दिनमा यसलाई अझ राम्रो बनाउँदै लैजाने तथा अब नेपालमै बसेर स्वावलम्बी बन्ने लामिछाने बताउछन् । उनले दैनिक विदेशिने युवालाई मेहनत गरे स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण दिएका छन् ।

सरकारले स्वदेशमै रोजगारी सिर्जना गरेर सस्तो ब्याजदरमा ऋण दिएर विदेशिने युवालाई काम दिनुपर्ने लामिछानेको भनाइ छ ।

लामिछाने भन्छन्, “गाउँमै केही गरौँभन्दा ऋण पाइँदैन तर विदेश जान्छु भन्दा सबैले जति मागे पनि ऋण दिन्छन् ।”

आफूले पनि गाउँमै व्यवसाय सञ्चालन गर्छु भन्दा कसैबाट ऋण नपाएर गाउँका अरुलाई भनेर ऋण पाएको अनुभव सुनाए । “कुखुरापालन व्यवसाय गरेको धेरै लामो समय भएको छैन, लगानी अहिले बराबरमा रहेको छ अब फाइदा हुन्छ होला”, लामिछानेले भने ।

प्रतिक्रिया दिनुहोस्