
२५ भदौ २०७५, उदयपुर
नेपाल सरकारले अफ्नो आम्दानीको मुख्य स्रोत पर्यटनलाई बनाउने बताई रहेको छ । यता प्रदेश १ सरकारले समेत २०२० मा सरकारले लक्ष्य लिएको पर्यटक संख्याको एउटा ठुलो हिस्सा अफ्नो प्रदेशमा भित्र्याउने बताई रहेको छ । प्रदेश १ का १४ वटै जिल्लाले आफ्ना जिल्लामा भएका साधान स्रोतको प्रयोग गरी पर्यटकीय स्थल बनाउनमा लागेका छन् । पर्यटकीय स्थलको कमी रहेको उदयपुरको एउटा स्थानीय तहले पनि आफ्नो क्षेत्रलाई पर्यटकीय स्थल बनाउन थालेको छ । गाउँको समृद्धि पर्यटनसँग जोड्ने उद्देश्यका साथ उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्ने विशेष महत्वको एभरेष्ट भ्यूटावर निर्माणको काम अगाडि सारेको हो । पालिकाको दोवाटे डाडाँमा आधुनिक लिम्चुङबुङ पार्कसंगै निर्माण हुन लागेको भ्यूटावरको डिपीआर सर्भेको थ्रीडी भिडियो क्लिप तयार भएको छ ।

पर्यटक भित्र्याउने र गाउँपालिकाको मौलिक पहिचान झल्काउने उद्देश्यले टावरको निर्माण गरिनेछ । टावरको टुप्पोमा किराती सभ्यता झल्काउने चिन्डो वाबु राखिएको छ । यस्तै लिम्चुङबुङ पार्क, चिल्ड्रेन पार्क, रिसोर्ट र पर्यटक सूचना केन्द्र, तथा होमस्टे सञ्चालन गरिने गाँउपालिकाका अध्यक्ष मेजर राई ‘मिजास किराती’ले बताए ।
सबै जातजाती, धर्म संस्कृति र प्राकृतिक एवम् मौलिक विषयवस्तुको प्रतिकको रुपमा निर्माण गरिने ७२ फिट अग्लो भ्यूटावरबाट एकैपटकमा ५० जनासम्मले सगरमाथा, कन्चनजंगा, मकालु, जुगल, गौरीशंकर, चोयो, चारपाटे हिमाल, ल्होत्से लगायतका हिमालको अवलोकन गर्न सक्ने किरातीले बताए । अगाडी सुनकोशी, हलेसी र तुवाचुङ, दिक्तेल, भोजपुर, सोलु, ओखलढुंगा जिल्लाका साथै तराई मधेसका फाँटहरुको अवलोकन गर्न सकिने लिम्चुङबुङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भक्त राइले बताए ।

भ्यूटावर निर्माणपछि सिंगो लिम्चुङबुङ गाउँपालिका विद्यार्थी र आन्तरिक तथा बाह्य पर्यटकका लागि अध्ययनको थलो बन्ने दावी गरिएको छ । टावर निर्माणमा १० करोड बढी खर्च हुने किरातीले बताएका छन् ।





