
२५ भदौ २०७५, संखुवासभा
पटक पटक विवादित काम गरी चर्चामा आउने गरेको संखुवासभाको पाँचखपन नगरपालिकाको अर्को त्रुटी सार्वजनिक भएको छ । सरकारबाट संचालित योजनाको अनुगमन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । योजनामा काम भएको निरीक्षण गरेर कामको आधारमा रकम भुक्तानी गर्नुपर्ने भएपनि पाँचखपन नगरपालिकाले बिल पेश गरेको आधारमा रकम भुक्तानी गरेको पाइएको हो ।
वडा नं. ५ मा सातपत्रे कुलो भत्कीएपछी पाइप खरिद गरिएको भन्दै बिल पेश गरेपछि नगरपालिकाले योजनाको अनुगमन नै नगरी रकम भुक्तानी दिएको हो । कुलो भत्कीएको स्थानमा १ सय ६० एमएमको ६० मिटर पाइप खरिद गरिएको र काम सम्पन्न भएको भन्दै कुलो मर्मतका अध्यक्ष मानसिंह पोख्रेलले ५५ हजार रुपैंयाको बिल पेश गरेका थिए । नगरपालिकाले योजनाको अनुगमन नगरी करकट्टी सहित विपद व्यवस्थापन शिर्षक मार्फत ४० हजार ७ सय ३७ रुपैंया रकम भुक्तानी दिएको तथ्याङ्कमा देखिन्छ ।
पोख्रेलले चैनपुर नगरपालिका ६ मा रहेको आसिका स्टोर्सबाट पाइप खरिद गरेको भनी १ सय १० एमएमको ६० मिटर पाइप र ४ बोरा सिमेन्ट खरिद गरेको गरी तिन ओटा बिल पेश गरेका थिए । तर पोख्रेलले उक्त बिल अनुसार सामग्री खरिद गरेका छैनन् । आर्थीक गर्षको अन्त्य हुन लागेपछि पोख्रेलले स्टोरबाट तिन ओटा बिल लिएका हुन् । पोख्रेलका अनुसार स्टोर्समा १ सय ६० एमएमको पाइप नभएको र गाउँमा रहेको पुरानो पाइप खरिद गर्ने भनी हिसाब मिलानका लागि बिल लिएको हो । तर आसिका स्टोर्सले पोख्रेलले बिल अनुसार पाइप लगेको दावी गरेको छ ।
जुनसुकै स्थानीय तहले संचालन गर्ने योजनाको अनुगमनको जिम्मा उपप्रमुखलाई हुन्छ । उपप्रमुखको संयोजकत्वमा सबै वडाका वडाध्यक्ष सदस्य रहेको अनुगमन समिती भए पनि उक्त समिती पाँचखपनमा भने निस्क्रिय देखिएको छ । काम नै नभई बिल भुक्तानी लिएको उक्त योजनामा यो आर्थीक बर्षमा समेत बजेट छुट्याईएको छ । नगरपालिका प्रमुख बिपिन राईका अनुसार आर्थिक बर्ष २०७५/७६ मा नगर सभाले उक्त योजनाका लागि भन्दै २ लाख रकम बिनीयोजन गरेको छ ।





