डा. राजन भट्टराईको विकास प्रयासमा काँग्रेसको अवरोध (भिडियो सहित)



२५ भदौ २०७५, काठमाडौं

सडक विभागको महानिर्देशक लिएर जनप्रतिनिधिसँग छलफल गर्न कपन आएका डा.राजन भट्टराईलाई काँग्रेस सांसदको नेतृत्वमा हातपात प्रयास भएको छ ।

लामो समयदेखि निर्माण हुन नसकेका कपन क्षेत्र भित्रका सडक (साततले देखि साप्रे ढुंगासम्म र साततले देखि आनी गुम्बासम्म) निर्माणको काम समयमै सम्पन्न गराउने उद्देश्यले पूर्व सांसद तथा परराष्ट्रविद् डा. राजन भट्टराई सडक विभागका महानिर्देशक, सडक डिभिजन कार्यालयका डिई, ठेकेदार कम्पनीका प्रमुख, सरकारी निकायका प्रतिनिधि सहित अनौपचारिक छलफलका लागि बूनपा १० को सभाहलमा जम्मा भएका थिए ।

समयमा सडक निर्माण नहुँदा स्थानीय जनताले पाएको सास्तीलाई नजिकबाट बुझेका भट्टराईले आफ्नो पहलमा चाँडो सडक बनाउन सके जनताको सहानुभूति पाउने आशाले कपन क्षेत्रका वडाध्यक्षसँग चिया गफमा सडकको अवस्था, जनगुनासो र निर्माण प्रगतिबारे छलफल गर्ने योजनाले सहभागी थिए ।

कार्यक्रमको ढाँचा हेर्दा जनप्रतिनिधि, स्थानीय समाजसेवी र वडास्तरीय पार्टीका साथी सहित गफगाफ गर्दा आफ्नो क्रियाशीलता देखिने र निर्वाचित जन प्रतिनिधिलाई समेत सहयोग पुग्ने आशयले कपनको विकासमा क्रियाशील पूर्व गाविस अध्यक्ष मिठाराम अधिकारी, शान्तिराम ढुंगाना सहितका सिमित व्यक्तिहरुको साथमा चुनाव हारेपनि आफ्नो चुनावी प्रतिवद्धता पुरा गर्न कार्यक्रम आयोजना गरेको देखिन्छ ।

आफ्नै पार्टीबाट निर्वाचित प्रदेश सांसद कुसुमकुमार कार्की, पार्टी नेताहरु ध्रुवराज न्यौपाने, ठाकुरप्रसाद खकुरेल, लक्ष्मी संग्रौला, राजन पोखरेल, पुरुषोत्तम नेपाल, हरेराम ढुंगाना लगायतलाई समेत निमन्त्रणा नगरिएको अनौपचारिक छलफल जहाँ वडाध्यक्षहरु १० का नवराज भट्टराई, ११ का राजु अधिकारी र १२ का शम्भु भट्टराई समेत अनौपचारिक पोशाकमा सहभागी भएका थिए ।  त्यस कार्यक्रममा आफ्नो पार्टीलाई छलेर एकपक्षीय ढंगले सडक बनाउने भन्दै काँग्रेसबाट प्रदेश सभामा निर्वाचित सांसद न्हुछे नारायण श्रेष्ठको नेतृत्वमा दर्जन बढी काँग्रेस कार्यकर्ताहरु हलमा प्रवेश गरे ।

भिडियो र फोटो खिच्दै सभाहल प्रवेश गरेका काँग्रेस सांसद श्रेष्ठले कार्यक्रमको उद्देश्य, सन्दर्भ र प्रकृति समेत नबुझी सडक निर्माणमा आफूले पुर्याएको योगदानबारे एकोहोरो बोल्न थाले । उनको प्रस्तुति सुन्दा लाग्थ्यो, “संसदीय निर्वाचन प्रचारको अन्तिम सार्वजनिक बहस कार्यक्रम हो, जहाँ हजारौँ हजार मतदाताहरु प्रत्यक्ष भाषण सुनिरहेका छन् । अन्तिम दिन भएकोले भोलिपल्ट सोहि प्रकृतिको कार्यक्रम आयोजना गर्नै मिल्दैन । बोलिरहेको वक्तापछि आफूले बोल्न पाएपनि श्रोता हिडिसक्छन् । आफ्ना धारणा राखेपछि कार्यक्रम भाँड्न नसकिए आफूले चुनाव हार्ने लगभग निश्चित छ ।”

कार्यक्रममा सहभागी स्थानीय नेकपा नेता जगत निरौला भन्छन,“परिचयात्मक कार्यक्रम सकिएर, ठेकेदार कम्पनीका संचालकले आफ्नो धारणा राख्न शुरु मात्र गरेका थिए । काँग्रेस सांसद  न्हुछे नारायण श्रेष्ठ गुण्डागर्दिको शैलीमा दलबल सहित सभाहलमा आए । अब म बोल्छु भन्दै कार्यक्रमको उद्देश्य र महत्व समेत नबुझी यसो गरे र उसो गरे भन्दै हावा गफ दिन थाले । केही समय धैर्यसाथ सुनेका संयोजनकर्ता डा. राजन भट्टराईले पहिले सरोकारवालाको कुरा सुनेर आफ्नो धारणा राख्न अनुरोध गर्नुभो । डा.साबको कुरा वेवास्ता गर्दै सांसद श्रेष्ठ लगातार बोलिरहेपछि केहि समय वडाध्यक्षका कुरा सुन्न अनुरोध गर्नुभो । सडक बन्न सहयोग होस् भन्दा पनि आफ्ना कुरा राखेर छलफल भाँड्ने प्रयासमा आएका काँग्रेस कार्यकर्ताको नियत बुझेपछि डा. भट्टराई रिसाउँदै यिनीहरु कसले बोलाएर आएका हुन् भनी हामीलाई सोध्नु भो ! गत स्थानीय निर्वाचनमा वडा सदस्यमा हारेको काँग्रेसको एउटा पिउसोले मेरो वडामा आउने तपाई को हो ? म काँग्रेसबाट हारेको सदस्य तिमी एमालेबाट हारेको सांसद भन्दै डा. भट्टराई जस्तो व्यक्तिलाई अपमान गरी हातपात गर्ने सम्मको प्रयास गरे । हामीले संयमता अपनाएर हिंसाको वातावरण बन्न दिएनौं । विकास निर्माणलाई गतिदिन सरोकारवाला लिएर केहि साथीहरु र जनप्रतिनिधिसँग गर्न लागेको छलफल कार्यक्रमलाई यो तिमीहरुको पार्टी कार्यालय हो भन्दै भाँडेपछि भट्टराईले अर्को स्थानमा छलफल गरेको सुनेको छु । “निरौला अचम्म मान्दै भन्छन, “राष्ट्रिय राजनीतिमा हाम्रो जस्तो हैसियतमा काँग्रेस हुने हो भने पुलिस र पार्टी कार्यकर्ता बोलाएर मर्नेगरी कुटपिट गरी विकास विरोधीहरुलाई जनताले कुटे भन्दै पत्रकार सम्मेलन सहित संसद र सडकबाट विकास विरोधी अभियोग लगाउने थिए ।”

डा. राजन भट्टराईको पहलमा रातो किताबमा परेको वजेटपनि त्यो बेला काँग्रेसले रोक्यो : नवराज भट्टराई, वडाध्यक्ष, बूनपा–१०
वडा कार्यालयमा राखिएको छलफल पछि कुरा गर्दा वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईले हाम्रै पार्टीको सुझावमा विष्णु पौडेल अर्थमन्त्री हुँदा डा. राजन भट्टराईको पहलमा रातो किताबमा पारेको सडक आयोजना समेत काँग्रेसले रोकेर सडकको अवस्थामा सुधार हुन नसकेको आरोप लगाए ।

तपाईहरुले सत्ताको दुरुपयोग गरेर एकपक्षीय काम गर्दै हुनुहुन्छ रे नि ? भन्ने प्रश्नमा भट्टराई भन्छन, “तत्कालिन अवस्थामा सत्ताको दुरुपयोग गरेर कसैले रोके । अहिले डा. भट्टराईले सत्ताकै दुरुपयोग गरेर बाटो बनाउने पहल गर्नु हुन्छ भने यसलाई तपाईले जसरी बुझेपनि हुन्छ । अझ थप जोड दिए,“सत्ताको दुरुपयोग गरेर जनताको काम हुन्छ भने दुरुपयोग कि सदुपयोग तपाई आफैँ बुझ्नुस् ।”

भट्टराईले वडा नं. १० मा आफूले लोकप्रिय मतले जितेको र आफूलाई पनि राजनीति गर्न आउने बताउँदै चरम राजनीति नगर्न काँग्रेसलाई सुझाव दिए । सानातिना अवरोध र प्रतिशोधले विकासको गति नरोकिने पनि उनको जोड थियो ।

समयमा बाटो निर्माण गर्न सडक विभागदेखि मन्त्रालय सम्म धाएका छौँ : राजु अधिकारी, वडाध्यक्ष, बूनपा–११
तपाईहरु निर्वाचित भएपछि पनि सडक निर्माणले गति लिन सकेन नि भन्ने प्रश्नमा अधिकारी भन्छन्,“हामीले समयमा बाटो सम्पन्न गराउन आफ्नो ठाउँबाट सक्दो प्रयास गरेको बताउँदै सडक विभागदेखि मन्त्रालय सम्म पटकपटक धाएको बताए ।”

सडक निर्माणलाई छिटो सम्पन्न गराउने उद्देश्यले हाम्रै अनुरोधमा डा. राजन भट्टराईले केन्द्रीय तहबाट पहल गर्नु भएको हो । सार्वजनिक सरोकारका विषयमा सवैलाई बुझ्ने अधिकार भएपनि उहाँहरु अराजक ढंगले प्रस्तुत हुनुभो ।”

डा. राजन भट्टराईले बोलाएर आएको हुँ, काम समयमा सम्पन्न हुन्छ : रविन्द्र कुमार श्रेष्ठ, महानिर्देशक सडक विभाग
महानिर्देशक श्रेष्ठले आफू डा. राजन भट्टराईको अनुरोधमा सरकारी निकायका सरोकारवाला सहित स्थानीय जनप्रतिनिधि सहितको अनौपचारिक छलफलमा सहभागी हुँदै गर्दा छलफल भाड्नु पर्ने कारण नबुझेको बताए । डा. भट्टराई सहित स्थानीय जनप्रतिनिधि र मेरै पहलमा तोकिएको अवधिभन्दा छिटो सडक निर्माण सम्पन्न हुनेमा ढुक्क हुनुस्, भने ।

माथिल्लो निकाय र स्थानीय सरकारको सहयोगमा तोकिएको समय भन्दा छिटो निर्माण सम्पन्न गर्न आफू प्रयासरत रहने सडक निर्माणको जिम्मा लिएका शैलुङ्ग कन्सट्रक्सनका प्रबन्धक रमेश सुवेदीले बताए ।

सडक विकासको लागि आफूले गरेको प्रयासमा काँग्रेस सांसद सहितले पुर्याएको अवरोधबारे डा. भट्टराई भने बोल्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्